प्रधानमन्त्री ओलीको निर्देशन : जनताले महसूस गर्ने गरी नतिजा निकाल्नुस्

प्रधानमन्त्री ओलीको निर्देशन : जनताले महसूस गर्ने गरी नतिजा निकाल्नुस्


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले महसूस गर्ने गरी नतिजा निकाल्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको चालू आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बन्धित निकायको प्रस्तुतिकरण सुनेपछि प्रधानमन्त्री ओलीले बैठक, छलफल र प्रशासनिक काममा मात्रै नअल्झिएर जनताले महसूस गर्ने गरी नतिजा निकाल्न निर्देशन दिए ।

उनले काम गर्ने व्यवहार र मानसिकतामा बदल्न निर्देशन दिए । देश विकास गर्ने प्रतिबद्धतासहित लागेर स्वच्छ र पारदर्शी रूपमा काम गर्न उनले आग्रह गरे ।

सुशासन, राजस्व चुहावट नियन्त्रण, गरीबी निवारण, मुलुकको छवि अन्तर्राष्ट्रियस्तरमा अभिवृद्धि र साधनस्रोतको उपयोग बढाउने गरी काम गर्न उनले निर्देशन दिए ।

‘भोलिदेखि नै परिवर्तन आउने गरी काम गर्नुस् । बैठकहरूको औचित्य सिद्ध गर्नुस् । अर्को बैठकमा यो–यो परिवर्तन भयो भनेर आउनुस् । सुशासन र विकासमा कुनै कानूनले व्यवधान खडा गरेको छ भने सरकार छिटो बाटोबाट कानूनको संशोधन गर्न पनि तयार छ,’ उनले भने, ‘हाम्रो सम्पूर्ण प्रयास उत्पादन वृद्धिमा हुनुपर्छ । स्रोतसाधनको वैज्ञानिक ढंगले उपयोग गर्नुपर्छ । सूचना र प्रविधिको प्रयोग गरी विकासलाई तीव्रता दिनुपर्छ ।’

बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक मामिला सल्लाहकार डा. युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल र सचिवहरू र मातहतका कार्यालयका प्रमुख उपस्थित थिए ।