नेपाल वायुसेवा निगमद्वारा हवाइ भाडादरमा छुट

नेपाल वायुसेवा निगमद्वारा हवाइ भाडादरमा छुट


काठमाण्डु – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यको हवाई भाडादरमा छुट दिएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार न्यूनतम २ हजार ५०० देखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिइनेछ । काठमाण्डुबाट भारतको नयाँदिल्ली, मुम्बई र बैंलोर सेक्टरका लागि बजार भाडादरमा २ हजार ५०० सम्म छुट दिइनेछ भने कतारको दोहा युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई, साउदी अरेबियाको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा ५ हजारसम्म दिइएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हवाईभाडादर घटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विशेष निर्देशन बमोजिम राष्ट्रिय दायित्व निर्वाह गर्दै अन्तर्राष्ट्रिय गन्तव्यहरूको भाडादरमा छुट दिन थालिएको निगमले जनाएको छ ।

हवाई भाडा वृद्धिबारे गुनासो बढेपछि पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका थिए । यसअघि हवाई सेवा कम्पनीहरूले नियामक निकायसँगको छलफलमा हवाई भाडा नियन्त्रणका लागि ५ बुँदे सहमति गरिएको भए पनि त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्रीले एयरलाइन्सहरूले नागरिकको मर्का बुझिदिन अनुरोध गरेका थिए ।

निगमका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १ देखि २२ नोभेम्बरसम्म डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसमा दिल्लीको दुईतर्फी उडानमा ३७ जना क्यान्सर रोगीलाई शतप्रतिशत र ती बिरामीका ३३ कुरुवालाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको छ ।