काठमाण्डु – प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाले बालबालिकाहरूमा रहेको प्रतिभालाई प्रष्फुटन हुन दिँदा हरेक बालबालिका कलाकार बन्न सक्ने धारणा राखेकी छन् ।
विश्व बाल दिवसको उपलक्ष्यमा बालबालिका तथा युवा विद्यार्थीहरूलाई लक्षित गरेर नेपाल आर्ट काउन्सिल बाबरमहलमा भएको कला प्रदर्शनीको बिहीबार अवलोकन गर्दै उपसभामुख रानाले हरेक बालबालिकाहरू कलाकार बन्न सक्ने वातावरण बनाउन आग्रह गरिन् ।
‘कला प्रर्दशनीले साना बालबालिकाको जीवन्त कल्पनाशक्तिलाई कलामार्फत प्रस्तुत गर्न सक्छन्,’ उपसभामुख रानाले भनिन्, ‘उचित वातावरण बनाउन सक्ने हो भने हरेक बालबालिका कलाकारको रूपमा उदाउन सक्छन्, हरेक अभिभावकले यसमा सचेत बन्नुपर्छ ।’
उनले बालबालिकाले कलामार्फत आफूभित्रको प्रतिभा मात्रै नभई कुण्ठा र आक्रोश पनि व्यक्त गर्न सक्ने भएकाले यसका लागि उचित वातावरण आवश्यक भएको कुरामा जोड दिइन् । ‘बाल्यावस्थाको उचित वातावरण, स्याहार सम्मान, सहभागिताले भविष्यमा सोही बालबालिका क्षमतावान मानव स्रोत बन्दछन् । आफ्ना भावी सन्ततिको उज्वल भविष्यको निम्ति अभिभावक तथा राष्ट्रले विशेष जिम्मेवारी लिऊन् भन्ने उद्देश्यले संयुक्त राष्ट्रसंघले बालअधिकार सम्बन्धी महासन्धि पनि पारित गरेको छ,’ उनले भनिन् ।
बच्चा जन्मिँदादेखि नै उसलाई सिकाइने सबै खालका ज्ञानहरू बच्चाका लागि शिक्षा भएकाले कलाका माध्यमबाट बालबालिकाको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गराउन यस्ता प्रदर्शनीहरू सफल हुने विश्वास उपसभामुख रानाको थियो ।
प्रर्दशनीमा ४ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाका लागि लक्षित गरेर तयार गरिएका चित्रहरू प्रदर्शनीमा राखिएको छ ।
प्रतिक्रिया