काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनमा प्रमुख प्रतिस्पर्धी दल नेकपा एमाले नै भएको जनाएको छ ।
उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक समेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले जारी गरेको १५ बुँदे सर्कुलरमा एमालेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।
स्थानीय तह उपनिर्वाचनको तयारीका सन्दर्भमा कांग्रेसले सर्कुलर जारी गरेको छ ।
सरकारमा सहकार्य भए पनि मुख्य प्रतिस्पर्धा एमालेसँग हुने भएकाले त्यहीअनुसारको नीति अंगिकार गरेर अगाडि बढ्न महामन्त्री शर्माले सर्कुलरमार्फत निर्देशन दिएका छन् ।
विगतमा बागी बनेका वा कांग्रेसका उम्मेदवार हराउन भूमिका खेलेकाहरूले उपनिर्वाचनमा खेल्ने भूमिकाअनुसार कारबाही फुकुवा, सदस्यता नवीकरण र जिम्मेवारी प्रदान गर्न सर्कुलरमार्फत पार्टी संरचनालाई निर्देशन दिइएको छ ।
चुनाव हुने स्थानका नेता–कार्यकर्ता क्षेत्रबाहिर रहेको भए सर्कुलरमा फर्केर प्रचारमा समय दिन आग्रह गरिएको छ । कतिपय स्थानीय तहमा भने कांग्रेस र एमालेले एकअर्काका उम्मेदवारलाई सघाउने सहमति गरेका छन् ।
प्रतिक्रिया