काठमाण्डु-राजधानीका विभिन्न तीन स्थानमा आज एउटै समयमा प्रदर्शन हुँदैछ ।
सत्तारुढ एमालेले दरवार मार्गमा जागरण सभा गर्दैछ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले पनि शक्ति प्रदर्शनको तयारी गरेको छ । यस्तै, माइतीघरमा जारी सहकारी पीडितको आन्दोलनसमेत रहने छ ।
एमालेले जागरण सभाका लागि एक लाख मान्छे काठमाडौंमा उतार्ने तयारी गरेको छ । बिहान ११ बजे विभिन्न स्थानबाट जुलुससहित दरबारमार्गमा भेला हुने कार्यक्रम छ ।
भद्रकालीबाट जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुनेछ । सभा १२ बजे सुरु हुनेछ ।
त्यसैगरी साइबर अपराधको कसुरमा पक्राउ परी साइबर ब्युरोको हिरासतमा रहेका मेडिकल व्यवसायी प्रसाईं पक्षले पनि आज कोटेश्वरमा विरोध कार्यक्रम गर्दैछ ।
उता, माइतीघरमा सहकारी पीडितहरूको आन्दोलनसमेत जारी रहनेछ । सहकारी पीडितहरूले बचत फिर्ताको माग गर्दै माइतीघर मण्डल केन्द्रित प्रदर्शन गर्दै आइरहेकाका छन् ।
काठमाडौंमा आज हुने प्रदर्शनका कारण ट्राफिक अस्तव्यस्त रहने छ । ट्राफिक प्रहरीले प्रदर्शन हुने स्थानहरूमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया