काठमाण्डु – नेपाली कांग्रेसले चीनले अहिलेसम्म अनुदान दिन गरेका प्रतिवद्धता पूरा नगरेसम्म नया ऋण लिन नहुने निर्णय गरेको छ । पुराना प्रतिवद्धता कार्यान्वयन नभएसम्म ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’का नाममा नया ऋण लिन नहुने कांग्रेसको धारणा छ ।
बिआराआईका नाममा चीनसँग नयाँ ऋण लिने कि नलिने भन्ने विषयमा नेपाली कांग्रेसले शुक्रबार ‘नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपाय’बारे अर्थविद र परराष्ट्र मामिलाका जानकारसँग सुझाव लिएको थियो । सुझाव सुनेपछि कांग्रेस बीआरआईका नाममा नयाँ ऋण लिन नहुने निष्कर्षमा पुगेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
कार्यक्रमपछि पत्रकारहरुसँग पूर्वअर्थमन्त्रीसमेत रहेका प्रवक्ता डा. महतले यसअघिका चिनियाँ प्रतिवद्धता पूरा नभएसम्म नयाँ ऋण लिन नहुने पार्टीले धारणा बनाएको बताए ।
‘बीआरआईका विषयमा कांग्रेसले दोधारे भएको होइन, अहिले ऋण लिन सकिँदैन भनेको मात्रै हो । अबचाहिँ कस्तो सहयोग गर्ने भन्ने कुरा आउँदाखेरि हामी के चाहन्छौं भने कनेक्टिभिटीको कुरा आउँदा सुरुमा सडकमा अनुदान सहयोग लिनुपर्यो, अनुदानमै धेरै प्रतिबद्धता चिनियाँ सरकारले गरेको कैयौं कार्यान्वयन भएको छैन । त्यसलाई कार्यान्वयन गर्नुपर्यो,’ प्रवक्ता डा. महतले भने ।
अनुदान कार्यान्वयन नहुँदासम्म थप ऋणको कुरा गर्नु अर्थ नभएको कांग्रेसले बताएको छ । प्रवक्ता डा. महतले ऋणको भार बढिरहेकाले चिनियाँ सरकारसँग मात्रै नभई कसैसँग पनि अहिले ऋण नलिन सरकारलाई सुझाव दिएको बताए ।
बीआरआईअन्तर्गतकै अनुदान कार्यान्वयन गर्न भने कांग्रेसले सरकारलाई सुझाएको छ । ‘खास गरेर अहिले अनुदान नै कार्यान्वयन गर्नुपर्छ, बीआरआई अन्तर्गतकै अनुदान कार्यान्वयन गर्नुपर्छ, ऋणचाहिँ लिन हुँदैन भन्ने हो,’ प्रवक्ता महतले भने ।
कांग्रेसले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा अर्थविद र परराष्ट्र मामिलाका जानकारहरुसँग बिआरआईबारे छलफल गर्दै राय मागेको थियो ।
प्रतिक्रिया