काठमाण्डु – निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ ।
उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता विपरीतका छिटपुट घटना भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले झण्डा र प्रचारप्रसारका सामग्री, पर्चा, साइन बोर्डको आकार, साइज, रंग तोकेकोभन्दा फरक नपार्न निर्देशन दिएको छ ।
प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न तथा श्रव्यसामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन नगर्न पनि आयोगले जनाएको छ ।
आचारसंहिता उल्लंघन भए/गरेमा तत्कालै कारबाही गर्न निर्वाचन अधिकृत वा अनुगमनकर्ता र स्थानीय प्रशासनलाई निर्देशन दिइएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी छन् ।
मंसिर १६ गते आईतबार हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न मंसिर २ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता लागू भएको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयन लागि आयोगले विभिन्न संयन्त्र परिचालित गरेको जनाएको छ ।
प्रतिक्रिया