काठमाडौं – नेपाल र दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाबीच हवाई सेवा आदानप्रदान गर्न प्रारम्भिक चरणको सम्झौतामा बिहीबार आज हस्ताक्षर हुने भएको हो। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा आएका कम्बोडियाका प्रधानमन्त्री हुन सेनको उपस्थितिमा सांझ राजधानीको एक होटलमा दुई देशका नागरिक उड्डयन मन्त्रीले हस्ताक्षर गर्नेछन्।
सम्झौतामा दुई देशका एयरलाइन्सले सातामा १४ वटासम्म उडान गर्न पाउने व्यवस्था गरिएको छ। सम्झौताको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको र सोहीअनुसार आज हस्ताक्षर हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए।
१ करोड ६० लाख जनसंख्या भएको कम्बोडियामा ९७ प्रतिशत मानिसले बुद्ध धर्म मान्छन्। बुद्ध जन्मस्थल लुम्बीनीसँग बौद्धबहुल जनसंख्या भएको कम्बोडियासँग हवाई सम्पर्कबाट जोड्न दुई देशको उत्तिकै चासो भएकाले सम्झौता गर्न लागिएको सहसचिव आचार्यको भनाइ छ।
यो प्रारम्भिक चराणको सम्झौता भएको उनको भनाइ छ। अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले निर्धारण गरेका मापदण्डभित्र रहेरै सम्झौताको व्यवस्था गरिएको उनको भनाइ छ।
प्रतिक्रिया