काठमाण्डु-नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता भइरहेको छ । ‘सर्टलिस्ट’मा परेका तीन उम्मेदवारसँग आज पुनः अन्तर्वार्ता लिन लागिएको हो । सिंहदरवारमा उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुती सुरु भएको छ ।
अध्यक्ष सिफारिस समितिले उनीहरूसँग अहिले अन्तर्वार्ता लिइरहेका छन् । गत असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।
‘सर्टलिस्ट’मा निवर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईँ र नेप्सेका प्रमुख कार्यकारी कृष्णबहादुर कार्कीको नाम समावेश छ । तर अन्तर्वार्तामा चापागाइँ अनुपस्थित छन् ।
दुई उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले यसअघि नै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका छन् । अब अन्तर्वार्ता तथा कार्यायोजना प्रस्तुत गरेका चार जनामध्ये समितिले उत्कृष्टताका आधारमा कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नेछ । तीमध्ये एक जनालाई मन्त्रिपरिषद्ले अध्यक्ष नियुक्त गर्नेछ ।
धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ ।
प्रतिक्रिया