काठमाण्डु – प्रमुख सत्तारुढ दल नेकपा एमालेले काठमाडौं महानगरपालिकालाई एक लाख जरिवाना नतिर्ने बताएको छ । महागरको पत्र एमाले कार्यालयमा प्राप्त नभएको र भए पनि जरिवाना नतिर्ने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकरी दिए ।
यही मंसिर ७ गते काठमाडौंको दरबारमार्गमा सभा गर्दा फोहोर गरेको भन्दै महानगरपालिकाले एमालेलाई एक लाख जरिवाना तोकेको थियो ।
सचिव अधिकारीले सभा सकिएलगत्तै आफैं सफा गरेकाले महानगरपालिकाले सामाजिक सन्जालमा जरिवानाको पत्र सार्वजनिक गर्नुमा गलत नियत देखिएको बताए ।
एमाले महासचिव शंकर पोखरेलले शनिबार काठमाण्डौ महानगरका प्रमुख बालेन्द्र शाहले स्टन्टका लागि जरिवानाको पत्र नगर प्रहरी निरीक्षकलाई लेख्न लगाएको टिप्पणी सामाजिक सञ्जालमा गरेका थिए ।
काठमाडौं महानगरपालिकाले शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ अनुसार एक लाख रुपैयाँ जरिवाना गरिएको पत्र काटेको थियो ।
नगर प्रहरी निरीक्षक लिलाराज गाछाले हस्ताक्षर गरेको पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
प्रतिक्रिया