परराष्ट्रमन्त्री राणाको जापान भ्रमण रद्द, चीन जाने अनिश्चित

परराष्ट्रमन्त्री राणाको जापान भ्रमण रद्द, चीन जाने अनिश्चित

फाइल तस्बिर

काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको जापान भ्रमण रद्द भएको छ । स्वास्थ्य उपचारका लागि परराष्ट्रमन्त्री राणा मंसिर १० गते जापान जाने कार्यक्रम तय भएको थियो । मंसिर ११ गते स्वास्थ्य परीक्षण गराएर मन्त्री राणाको उतैबाट मंसिर १४ गते चीनतर्फ जाने कार्यक्रम बनेको थियो ।

तर मन्त्री राणाले हाललाई जापानमा स्वास्थ्य उपचारलाई स्थगन गरेर जनवरी ५ पछि सारेको उनको सचिवालयले जानकारी दिएको छ । यद्यपी उनले जापान भ्रमण रद्द गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न चीन भ्रमणको तयारी स्वरुप बेइजिङ जाने पनि अनिश्चित बनेको छ । मन्त्री राणा छुट्टै चीन भ्रमण जान अनिच्छुक देखिएको स्रोतले जानकारी दियो । उनले प्रधानमन्त्रीसंगै चीन जान रुची देखाएको बताइन्छ ।

प्रधानमन्त्री ओली मंसिर १७ गतेदेखि २१ गतेसम्मे चीन भ्रमणमा जाँदै छन् । तर अहिलेसम्म नेपालले प्रधानमन्त्रीको भ्रमणको औपचारिक मिति घोषणा गरेको छैन । मंसिर १७ गतेको मिति चीनले प्रस्ताव गरेको हो ।

यति मात्र होइन, प्रधानमन्त्री ओलीको भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत हुन बाँकी नै छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भ्रमण स्वीकृत गर्ने एजेन्डा भए पनि चीनको बीआरआई योजनका विषयमा सत्तारुढ एमाले र कांग्रेसबीच समान धारणाा नबनेका कारण बैठकले भ्रमण स्वीकृत नगरेको हो ।

परराष्ट्रमन्त्री राणाको मंसिर १५ गते चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेटवार्ता हुने कार्यतालिका छ । तर , प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा नेपालले उठाउने एजेन्डा अहिलेसम्म नटुंगिएले मन्त्री राणाको चीन भ्रमण अनिश्चित बनेको हो ।

‘प्रधानमन्त्रीको भ्रमणको एजेन्डा नै नटुंगिएपछि मन्त्री राणा के गर्न जानुहुन्छ’, मन्त्री राणा निकट स्रोतले भन्यो । सरकारको एजेन्डा नै नभएपछि मन्त्री राणा प्रधानमन्त्री ओलीको भ्रमणको तयारी स्वरूप चीन जाने कार्यक्रम अनिश्चित बनेको हो ।

मन्त्री राणा बेइजिङ पुगेको भोलिपल्ट चिनियाँ समकक्षीसँग भेटवार्ता हुने भएपनि चिनियाँ प्रधानमन्त्री ली छियाङ र राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता हुने वा नहुने पनि निश्चित छैन । परराष्ट्रमन्त्री राणाले गत भदौ पहिलो हप्ता भारत भ्रमण गरेकी थिइन्। संयोगवस त्यो भ्रमणपनि स्वास्थ्य परीक्षणकै सिलसिलामा भएको थियो।

स्वास्थ्य परीक्षणका लागि नयाँदिल्ली जाने भएपछि मन्त्री राणालाई भारतले औपचारिक भ्रमणकै निम्तो दिएको थियो । त्यसक्रममा भारतीय समकक्षी एस. जयशंकरका अलावा प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटवार्ता गरेकी थिइन् ।