काठमाण्डु-मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतपत्रको छपाइ सकिएको छ ।
उपनिर्वाचनका लागि दुई लाख ५९ हजार मतपत्र छापिएको छ । हरेक पदका लागि छुट्टाछुट्टै मतपत्र छापिएका छन् । निर्वाचन आयोगका अनुसार मतपत्र छापिएसँगै निर्वाचन हुने स्थानमा मतपत्रसहितका आवश्यक निर्वाचन सामग्री पठाइ सकिएको छ ।
उम्मेदवारको संख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका चुनाव चिह्न समावेश गरेर मतपत्र छापिएका हुन् । निर्वाचन आयोगकाअनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भइसकेका छन् ।
रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर–२ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती पनि निर्विरोध निर्वाचित भएका छन् ।
उपनिर्वाचनका लागि एक सय ६२ मतदान स्थल र दुई सय ९३ मतदान केन्द्र कायम गरिएको छ ।
प्रतिक्रिया