बाजुरामा रूखले च्यापिएर एकको मृत्यु, दुई जना गम्भीर घाइते

बाजुरामा रूखले च्यापिएर एकको मृत्यु, दुई जना गम्भीर घाइते


बाजुरा – बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्या युनामा रूखले च्यापेर आज एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा हिमाली गाउँपालिका- ३ युनाका ४३ वर्षीय सुपधन बुढा रहेका छन् । उक्त घटनामा परी स्थानीय ४८ वर्षीय सिदुपुरी रोकाया र ३० वर्षीय पर्मलाल सुनार गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकबहादुर बोहराले जानकारी दिए ।

युनास्थित कादुरी जलविद्युत आयोजनाको लाइन विस्तारका लागि सल्लाको रूख काट्ने क्रममा रूख ढलेपछि च्यापिएर बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बोहराले बताए ।

रूखले च्यापेर घाइते भएका रोकाया र सुनारको उपचारका लागि नेपाली सेनाको हेलिकप्टरको पहल भइरहेको छ । बिच्छ्या प्रहरी चौकी र कोल्टीबाट प्रहरीको टोली घटनास्थलमा गएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।