तस्करीको तीन किलो सुनबारे राजस्वलाई खबर गर्ने असई निलम्बित

तस्करीको तीन किलो सुनबारे राजस्वलाई खबर गर्ने असई निलम्बित


काठमाण्डु – नेपाल प्रहरीले रसुवाको केरुङ नाकाबाट तस्करी गरेर ल्याएको तीन किलो सुन लुटपाट भएको प्रकरणमा प्रहरी सहयाक निरीक्षक सविन तिवारीलाई छानबिनका लागि निलम्बन गरेको छ ।

सुन बोकेर ल्याएका भरियालाई अपहरण गरेको घटनामा प्रहरीको विशेष ब्युरोमा कार्यरत असई तिवारीलाई छानबिनका लागि निलम्बन गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

कन्टेनर चालक रामकृष्ण वाइबाले सुन ल्याउँदै गरेको जानकारी निमा छिरिङ तामाङलाई दिएपछि निमाले त्यसबारे असई तिवारीलाई जानकारी गराएका थिए । तिवारीले संगठनमा जानकारी गराउनुको साटो राजस्व अनुसन्धान विभागमा कार्यरत सशस्त्र प्रहरीका डीएसपी सञ्जय अधिकारीलाई जानकारी गराएका थिए ।

अधिकारीको टोली काठमाडौँमा पर्खिरहे पनि कन्टेनर काठमाडौँ आइपुग्दा लुटेराले सुन लुटेर चालक वाइबा र निमा छिरिङ तामाङलाई अपहरण गरेर बुढानिलकलण्ठस्थित शैलजा रिसोर्टमा बन्धक बनाइ कुटपिट गरेको थियो ।

उनीहरूलाई अपहरण गरेको आरोपमा प्रहरीले नुर्पु सिंगी तामाङ सहित ४ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ । गोसाईंकुण्ड गाउँपालिका–१ थुमन घर भएका बुद्धि बहादुर तामाङ, गोसाईंकुण्ड–६ धुन्चे घर भएका टेम्पा नुर्पु तामाङ र कालिका गाउँपालिका–१ राम्चे घर भएका गोपाल तामाङ पनि पक्राउ परेका छन् ।

प्रहरीले असई तिवारीले सुन तस्करीको सूचना आफ्नो चेन अफ कमान्डमा रिपोर्ट नगरेकाले निलम्बन गरेर छानबिन थालिएको प्रहरीले जनाएको छ ।