काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले गाडी पुरस्कार दिने घोषणा गरेको छ ।
एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा मंगलबार गाडी उपहार दिने सम्झौता गरिएको छ ।
ब्रान्ड डिजिटल लजिक प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
क्यानका सचिव पारस खड्काले एनपीएलको फाइनलको दिन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीले गाडी पाउने बताए । उनले नेपाली क्रिकेटको इतिहासमै पहिलोपटक हुने भन्दै एनपीएल खेलेपछि कम्तिमा खेलाडीले गाडी चढ्नुपर्छ भन्ने लक्ष्यका साथ कदम चालिएको बताए ।
यसैगरी, एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले यस सहकार्यले नेपालमा क्रिकेट खेलको प्रवर्द्धन र विकासका लागि टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा कर्णाली याक्स, काठमाण्डु गोरर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, र सुदूरपश्चिम रोयल्स गरी ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछन् ।
प्रतिक्रिया