काठमाण्डु – काशी हिन्दू विश्वविद्यालयका प्रा.डा. दीपक मल्लिकले नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको बताएका छन् ।
सहिद स्मृति प्रतिष्ठान केन्द्रीय समितिले मंगलबार आयोजना गरेको ‘वर्तमान राजनीतिक परिवेश र समावेशी लोकतन्त्र विषयक’ कार्यशालामा उनले अब हाम्रो विचार बदलिनुपर्नेमा जोड दिए ।
उनले विचार बदलिएमा राजनीतिक परिवेश र समावेशी लोकतन्त्रले पनि सफलता पाउने बताए । प्रा.डा. मल्लिकले गणतन्त्र एवं लोकतन्त्रमा सबै नागरिकका हक अधिकार बराबरी हुने भएकाले यसले सफलता पाउँदै आएको दाबी गरे । शासन सञ्चालनमा सम्पूर्ण क्षेत्र, भाषा, लिङ्ग, वर्ग र समुदायका नागरिकलाई न्यायोचित सहभागी गराउने शासकीय पद्धति नै समावेशी लोकतन्त्र भएकाले यसको आवश्यकता रहेको उल्लेख गरे ।
नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले समावेशी लोकतन्त्र निर्माणका लागि बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, प्रदीप गिरी लगायतका नेताहरूले देशमा खेलेको भूमिकाबारे चर्चा गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदिश पोखरेल, पूर्वसांसद किरण यादव, पूर्वराजदूत डा. विजय कर्ण, प्रतिष्ठानका अध्यक्ष खिलानाथ दाहाल लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
प्रतिक्रिया