काठमाण्डु – सभामुख देवराज घिमिरे ५ दिने कम्बोडिया भ्रमणमा पूरा गरी स्वदेश फर्किएका छन् ।
उनी ५ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राजधानी नोम पेन्ह पुगेर थाई एयरको जहाजबाट मंगलबार साँझ ८ बजे काठमाण्डु ओर्लिएका छन् ।
सभामुखलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डे लगायत उच्च अधिकारीले स्वागत गरेका थिए । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आईपीटीपी) को ११औं पूर्ण सत्रमा सहभागी हुन गएका सभामुख घिमिरेले भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट गरेका थिए ।
सभामुख घिमिरेले कम्बोडिया भ्रमण सफल रहेको बताउँदै नेपालको शान्ति प्रक्रियाको उपलब्धि विश्वभर प्रवद्र्धन गर्न सफल भएको बताए । उनले भने, ‘नेपाल विश्वभरका जनताहरू शान्ति, समृद्धि र मेलमिलापमा जीवन बिताउन् भन्ने चाहन्छ । नेपालले पछि दशक लामो गृहयुद्धलाई शान्तिपूर्ण वार्ताबाट टुंगोमा पुर्याएको उपलब्धि विश्वका अन्य देशलाई पनि प्रेरणादायी बन्न सक्दछ । नेपालको मौलिक शान्ति प्रक्रियाको सफलता प्रवद्र्धन गर्न भ्रमण सफल भएको छ ।’
कम्बोडिया पनि नेपालजस्तै घरेलु द्वन्द्वलाई शान्तिपूर्ण तवरले अन्त्य गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढेको बताउँदै सभामुख घिमिरेले मेलमिलापबाटै पुनर्निर्माण र समृद्धि सम्भव हुने धारणा राखे । उनले युद्धबाट बाहिर निस्किँदै सीमित कम्बोडियाली नेताहरूले सुरु गरेको समृद्धि यात्राबाट पाएको सफलता नेपालका लागि सिकाइको विषय हुने बताए ।
प्रतिक्रिया