पाँच पटक म्याद थपियो तर ८ वर्षमा पनि बनेन पुल

पाँच पटक म्याद थपियो तर ८ वर्षमा पनि बनेन पुल


काठमाण्डु-सप्तरीको राजगढ गाउँपालिका–३ स्थित नर्घो–फकिरा जोड्ने मुतनी नदीमा पुल निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि काम अधुरै छ ।

नदीमा पुल नहुँदा फकिरा, कुपही, रम्पुरा, इनरूवा, झुटकीलगायत गाउँका बासिन्दालाई आवतजावतमा समस्या भइरहेको छ ।

सुक्खायाममा जसोतसो समस्या टरे पनि वर्षायाममा भने दोब्बर दूरीको अर्को बाटोबाट यात्रा गर्नुपर्ने बाध्यता छ ।
पुलको निर्माण भने सुस्तगतिमा भइरहेको छ । यसले स्थानीयवासी निरास छन् ।

२०७३ जेठ २ गते पाँच करोड ४० लाख ९३ हजार रुपैयाँमा रोशन कन्सट्रक्सन जनकपुरले ठेक्का लिएको थियो । सडक डिभिजन लहान र निर्माण कम्पनीबीच सुरुमा २०७५ जेठ ०९ गतेसम्म काम सम्पन्न गर्ने सम्झौता भएको थियो । त्यसयता पाँच पटक म्याद थपिएको छ ।

अन्तिम पटक थप गरिएको म्याद पनि गत कात्तिक ९ गते सकिएको छ । सडक डिभिजन कार्यालय लहानका प्रमुख आशुतोष कर्णले काम छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई पटकपटक ताकेदा गरिरहेको बताए ।

कार्यालयका सूचना अधिकारी अश्विनीकुमार यादवले हालसम्म ८५ प्रतिशत भौतिक प्रगति भएको बताए । उनले निर्माण कम्पनीलाई हालसम्म चार करोड ५२ लाख रुपैयाँ भुक्तानी दिइसकेको जानकरी दिए ।

अब चालु आर्थिक वर्षको असार मसान्तसम्म कार्यसम्पन्न गर्ने लक्ष्य लिएको सूचना अधिकारी यादवले बताए ।