नेपाल अफ्रिका चलचित्र महोत्सव माघमा हुने

नेपाल अफ्रिका चलचित्र महोत्सव माघमा हुने


काठमाण्डु-कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा ‘१३औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२५’ आगामी माघको पहिलो साता काठमाडौंमा हुने भएको छ ।

मिति घोषणासँगै महोत्सवमा सहभागी हुने चाहने चलचित्रका लागि आवेदन माग गरिएको महोत्सवका निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए ।

यसपटक अफ्रिकासँगै अन्य देशका चलचित्र पनि सहभागी गराइने उनले बताए । ‘अन्तर्राष्ट्रिय विधा थप गरेका छौँ । महोत्सवमा नेपाली चलचित्र, लघु चलचित्र, वृत्तचित्र पनि प्रदर्शन हुनेछ’, उनले भने ।

माघ पहिलो साताको मिति छिट्टै घोषणा गरिने जानकारी दिँदै नेपाली चलचित्रकर्मीलाई दर्ताका लागि आह्वान गरिएको उनले बताए । यसअगाडि महोत्सवमा नेपालीसँगै अन्तर्राष्ट्रिय चलचित्रको रूपमा अफ्रिकी चलचित्रलाई मात्र समावेश गर्ने गरिन्थ्यो । यसपटक भने अफ्रिका बाहेकका चलचित्र महोत्सवमा अन्तर्राष्ट्रिय विधाअन्तर्गत सहभागी हुनेछन् ।

आगामी पुस १६ गतेसम्म चलचित्र दर्ता गर्न पाउने महोत्सवमा चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तक्रियालगायत विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ ।