काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजनन् दर घट्नु र वृद्ध जनसंख्या बढ्नुले समाजलाई प्रभावित गर्ने बताएका छन् ।
बुधबार छैटौं एसियाली जनसंख्या सम्मेलनलाई सम्बोधन गर्दै उनले सम्मेलनले यस्ता महत्त्वपूर्ण मुद्दाहरूमा बहस गर्न विशेष अवसर प्रदान गर्ने बताए ।
उनले भने, ‘जब प्रजनन् दर घट्दै गएको र वृद्ध जनसंख्या बढ्दै गएको छ विशेषगरी एशियामा, यसले हाम्रो अर्थतन्त्र, समाज र कल्याण प्रणालीहरूमा पर्ने प्रभावलाई गहिरो रूपमा विचार गर्नुपर्छ ।’
समाजले वृद्धहरूलाई बोझको रूपमा हेर्न नहुने प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘वृद्धहरूलाई कहिल्यै बोझको रूपमा लिइनु हुँदैन, उनीहरू समाजको प्रगतिशील चरणको प्राकृतिक परिणाम हुन् ।’
विश्वभरबाट आएका प्रतिनिधि सम्मिलित सम्मेलनमा उनले भने, ‘हामी इतिहासकै एक महत्त्वपूर्ण मोडमा छौं– जहाँ शान्ति र समृद्धिका लागि निर्णायक कदम चाल्नुपर्ने बेला आएको छ । हाम्रो सामूहिक जिम्मेवारी प्रस्ट छः संसारको कुनै पनि कुनामा कोही पनि खानपान, बसोबास वा आधारभूत आवश्यकताबाट वञ्चित हुन नपरोस् तर अझै पनि लाखौं मानिस यी समस्याहरूबाट पीडित छन् । यसको समाधानका लागि कृषिमा लगानी र स्रोतहरूको दीगो व्यवस्थापन अपरिहार्य छ ।’
आजको युवापुस्ता अनावश्यक रूपमा सन्तान जन्माउने कुरामा सतर्क हुँदै गएको उनले बताए । ‘केही दशकअघि ‘हामी दुई, हाम्रा दुई’ भन्ने नीति निकै प्रचार गरिन्थ्यो । आज पनि यो दृष्टिकोण सन्तुलित र दीगो जनसंख्या नीति निर्माणका लागि महत्त्वपूर्ण छ,’ उनले भने ।
जनसंख्यासँग सम्बन्धित समस्याहरूको समाधानका लागि समतामूलक र समावेशी विकास नीति अपनाउन आवश्यक रहेको उनले बताए । उनले भने, ‘मानिसहरूलाई आफ्नो जन्मस्थलमै बस्न प्रोत्साहित गर्न दैनिक जीवनका आवश्यकता पूरा गर्ने वातावरण सिर्जना गरिनुपर्छ ।’
प्रतिक्रिया