उपनिर्वाचनमा सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध मत जाहेर गर्न अध्यक्ष प्रचण्डको आह्वान

उपनिर्वाचनमा सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध मत जाहेर गर्न अध्यक्ष प्रचण्डको आह्वान


काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न उपनिर्वाचन सुशासनको पक्ष र भ्रष्टाचारविरुद्ध जनताले आफ्नो मत जाहेर गर्ने महत्त्वपूर्ण अवसर भएको बताएका छन् ।

उनले बुधबार भिडियो सन्देशमार्फत मतदातालाई अपिल गर्दै सुशासनका पक्षमा मत जाहेर गर्न आग्रह गरे ।

उनले भने, ‘यो उपनिर्वाचनले यथार्थमा आगामी आमनिर्वाचनका लागि पनि सन्देश दिनेछ । नेपाली जनता साँच्चिकै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने यो महत्त्वपूर्ण अवसर पनि हो । त्यसकारण यो उपनिर्वाचनलाई अवसरका रूपमा सदुपयोग गरेर देशमा व्याप्त बेथिति, बिसंगति र विकृतिविरुद्ध जनमत प्रकट गर्न म अनुरोध गर्न चाहन्छु ।’

उपनिर्वाचन केही निश्चित ठाउँमा मात्रै निर्वाचन हुने भए पनि यसको विशेष अर्थ र महत्त्व रहेको उल्लेख गर्दै उनले भने, ‘यहाँहरू सबैलाई अवगत नै छ, मैले आफ्नो नेतृत्वमा रहेको सरकारका तर्फबाट देशमा सुशासनका पक्षमा र भ्रष्टाचारविरुद्ध, सामाजिक न्यायका पक्षमा, विभेद र अन्यायका विरुद्ध तथा आर्थिक संकटबाट देशलाई मुक्त गर्न निकै प्रयास गरेको थिएँ । त्यसैको परिणामस्वरुप देशमा सकारात्मक भाव पैदा भएको थियो र भइरहेको पनि छ ।’

अध्यक्ष प्रचण्डले उपनिर्वाचनलाई आफ्नो पार्टीले भ्रष्टाचार विरोधी महाअभियानलाई अगाडि बढाउने संकल्पको रूपमा, देशमा सुशासन कायम गर्ने र सामाजिक न्याय सहितको आर्थिक समृद्धिको पक्षमा जागरण ल्याउन अभियानको रूपमा अघि बढाएको स्पष्ट गरे । ‘यो महाअभियानलाई सफल पार्न उपनिर्वाचनमार्फत जनताको अभिमतका लागि म विशेष अनुरोध गर्न चाहन्छु,’ उनले भने ।