स्वदेशी उत्पादन वृद्धि गरेर निर्यात बढाउनुपर्छ : मन्त्री भण्डारी

स्वदेशी उत्पादन वृद्धि गरेर निर्यात बढाउनुपर्छ : मन्त्री भण्डारी


काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु भएको बताएका छन् ।

उद्योग संगठन मोरङको प्रतिनिधिमण्डलसँग बुधबार भएको अन्तक्र्रियामा उनले स्वदेशी उत्पादन बढाउँदै निर्यातमा जोड दिनुपर्ने बताए ।

मन्त्री भण्डारीले भारतसँगको विषयलाई आगामी दिनमा हुने सचिवस्तरीय बैठकमार्फत सहजीकरण गरिने बताए । उनले आफ्नो मन्त्रालय मातहतका निकायबाट काममा ढिलासुस्ती नहुने प्रतिबद्धता जनाए ।

संगठनका पदाधिकारीहरूले मन्त्री भण्डारीसमक्ष आफ्ना समस्याहरू सुनाएका थिए । संगठनका महानिर्देशक चूडामणि भट्टराईले स्वदेशमा उत्पादित सामग्री भारत निर्यात गर्दा भारत पक्षले रोक लगाएको हुँदा यस विषयमा सहजीकरण गरिदिन आग्रह गरे । उनले भने, ‘अहिले नेपालबाट सिमेन्ट, रड, स्टिल, प्लाइउड, प्लास्टिक, सेनेटरी प्याड, जुत्ताचप्पल जस्ता सामग्री भारत निर्यात गर्दा भारतीय पक्षले रोक लगाउने गरेको व्यवसायीको गुनासो छ ।’

भट्टराईले जोगवनी–विराटनगर कार्गो रेल सञ्चालनका लागि पहल गरिदिन तथा उद्योग विभागमा हुने ढिलासुस्ती न्यूनीकरणका लागि आग्रह गरे ।

डेढ वर्षअघि नेपाल र भारतका प्रधानमन्त्रीहरूले संयुक्त रूपमा उद्घाटन गरेको कार्गो रेल नियमित सञ्चालन भएमा सामान ढुवानी भाडादर ३० प्रतिशत सस्तो हुने संगठनका अध्यक्ष राकेश सुरानाले बताए । संगठनले हालै उत्कृष्ट काम गरेबापत २ हजार अमेरिकी डलर बराबरको एसिया प्यासिफिक रिजन अवार्ड प्राप्त गरेको थियो ।