काठमाण्डु-आइतवार हुने स्थानीय तहको उपनिर्वाचनको लागि आज मध्यरातबाट मौन अवधि सुरू हुँदैछ ।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचन हुने स्थानमा मौन अवधि सुरू हुनेछ । मौन अवधि मतदान नसकिएसम्म जारी रहन्छ ।
मौन अवधिमा उम्मेदवार र उनीहरूको पक्षमा प्रचारप्रचार र अरु क्रियाकलाप गर्न पाइँदैन । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार मौन अवधिमा राजनीतिक दलहरुले प्रचारप्रसारका काम गर्न पाउँदैनन् । दलहरूलाई छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै पनि क्रियाकलाप गर्न रोक लगाइएको हुन्छ । मतदानको समयमा प्रतिस्पर्धीहरुबीच विवाद वा झडप नहोस् भनेर मौन अवधि सुरु गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ ।
निर्वाचन आयोगले मौन अवधिमा उम्मेदवार वा अरु कोहीले पनि भौतिक, सामाजिक सञ्जाल वा कुनै पनि माध्याममार्फत मत माग्न नपाउने जनाएको छ ।
आइतबार ४१ पदका लागि मतदान हुँदैछ । विभिन्न स्थानमा हुने मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएका छन् ।
प्रतिक्रिया