रामराजा क्याम्पस प्रमुखको हत्यामा संलग्न मुख्य आरोपी सुरेन्द्र कुशवाहा पक्राउ

रामराजा क्याम्पस प्रमुखको हत्यामा संलग्न मुख्य आरोपी सुरेन्द्र कुशवाहा पक्राउ


काठमाण्डु – रामराजा बहुमुखी क्याम्पस, बाराका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपी सुरेन्द्र कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले गत ३२ जेठमा भएको कुशवाहा हत्याका आरोपी कुशवाहालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सुरेन्द्रले जग्गासम्बन्धी विवादमा हरिभुषणको गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बाराको आदर्शकोतवाल गाउँपालिका–३, बतरामा भएको गोली प्रहारबाट गम्भीर घाइते क्याम्पस प्रमुख कुशवाहालाई तुरुन्तै बयोधा अस्पताल, वीरगञ्ज लगिएको थियो । घाइते कुशवाहाले आफूलाई सुरेन्द्रले गोली प्रहार गरेको बताएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्नता रहेको आरोपमा प्रहरीले तत्कालै चन्द्रमणिप्रसाद कुशवाहा, चाँदशीप्रसाद कुशवाहा, सुमेद कुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रवण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरीलाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्य राधेस कुमार पटेल र विनोद राउत कुर्मी कर्तव्यज्या मुद्दामा जिल्ला अदालत बाराबाट धरौटीमा छुटेका छन् भने ८ जना पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

घटनामा प्रयोग भएको हतियार दुई ओटा पेस्तोल ७ गोली ४ मोटरसाइकल ४ मोबाइल २ ल्यापटप प्रहरीले बरामद गरेको थियो ।