उद्योगीको खाता रोक्का गर्ने विद्युत प्राधिकरणको पत्र राष्ट्र बैंकमा दर्ता नै भएन

उद्योगीको खाता रोक्का गर्ने विद्युत प्राधिकरणको पत्र राष्ट्र बैंकमा दर्ता नै भएन


काठमाण्डु – डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउन प्रयोजनार्थ नेपाल विद्युत प्राधिकरणले उद्योगीको खाता रोक्का गर्न पठाएको पत्र नेपाल राष्ट्र बैंकले दर्ता नै गरेको छैन । राष्ट्र बैंकले प्राधिकरणले पठाएको इमेल प्राप्त भएको तर दर्ता नभएको जानकारी दियो ।

इमेल होइन, सक्कली पत्र आएपछि मात्रै दर्ता गर्ने कि नगर्ने भन्नेबारे निर्णय हुने राष्ट्र बैँक स्रोतले जानकारी लियो ।

विद्युत नियमन आयोगले लाइन नकाट्ने तर, अन्य प्रक्रियाबाट बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन दिएको थियो त्यही निर्देशनअनुरुप प्राधिकरणले मंगलबार राष्ट्र बैंकलाई पत्र लेखेको प्राधिकरणका कर्मचारीहरू बताउँछन् ।

राष्ट्र बैंकका सहायक सूचना अधिकारी भागवत आचार्यले यस्तो प्रकृतिको पत्र अहिलेसम्म राष्ट्र बैंकमा आएको जानकारी नरहेकाले कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय हु्न बाँकी रहेको बताए । उनले कसरी अगाडि बढ्ने भन्ने तय भएपछि मात्रै दार्ता गरेर प्रक्रिया अघि बढ्न सक्ने जानकारी दिए ।

प्रँधिकरणले लेखेको पत्रमा बक्यौता रकम भुक्तानी गर्न विभिन्न समय अवधि दिइएकोमा सो अवधिभित्र पनि उपभोक्ताबाट महसुल भुक्तानी नगरेकोले खाता रोक्का गर्न अनुरोध गरिएको छ ।

विद्युत् नियमन आयोगले मंगलबार प्राधिकरणलाई पत्र लेख्दै बक्यौता नतिर्नेको लाइन नकाट्न निर्देशन दिएपछि प्राधिकरणले उद्योगहरूको बैंक खाता रोक्का गर्न पत्र लेखेको बताएको छ ।