काठमाण्डु – लगानी बोर्डको बिहीबारको ६०औं बोर्ड बैठकले बुढीगण्डकीसहित विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सिंहदरबारमा सम्पन्न बैठकले ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् परियोजनाका लागि ७० अर्ब, १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि २३ अर्ब ५९ करोड र २१० मेगावाट क्षमताको चैनपुर सेती परियोजनाका लागि ४७ अर्ब ५४ करोड लगानी स्वीकृतिको निर्णय गरेको छ ।
बैठकले ३२७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी र सम्राट सिमेन्ट कम्पनी प्रालिको म्याद थप गरेको छ भने पश्चिम सेती जलविद्युत् परियोजनाको क्षमता ७५० मेगावाटबाट बढाएर ८०० मेगावाट बनाउने गरी म्याद थप तथा चारकिल्ला जडित क्षेत्रको अनुमतिपत्र संशोधनको निर्णय गरेको छ ।
माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको शेयर परिवर्तन र सम्झौतापत्र संशोधनको निर्णय गरिएको छ ।
प्रधानमन्त्री ओलीले सम्बन्धित निकायहरूले समन्वयात्मक रूपमा काम गरी मुलुकमा लगानीको उचित वातावरण सिर्जना गर्न र समृद्धिको यात्रामा तदारुकताका साथ काम गर्न आग्रह गरे ।
बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यसअघिको असोज २२ गतेको निर्णयका आधारमा बोर्डको रणनीतिक तथा व्यावसायिक योजनाको मस्यौदा तयार गरी सरोकार भएका पक्षसँग छलफल भइरहेको जानकारी गराए ।
प्रतिक्रिया