एनसेलद्वारा एनपीएलका प्रत्येक चौकामा विद्यार्थीलाई ४ वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा

एनसेलद्वारा एनपीएलका प्रत्येक चौकामा विद्यार्थीलाई ४ वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा


काठमाण्डु – एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो उद्देश्यसँग जोड्ने घोषणा गरेको छ ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेलका खेलहरूमा हानिने प्रत्येक चौकाबापत एनसेल फाउन्डेसनले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामग्री प्रदान गर्नेछ ।

एनसेलले पहलले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको छ । शिक्षालाई प्रवद्र्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्‍याउनेछ । विद्यार्थीहरुले प्राप्त गर्ने प्रत्येक शैक्षिक किटमा आवश्यक शैक्षिक सामग्री समावेश हुनेछन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूलाई पठनपाठनमा योगदान प्रदान गर्नेछ ।

‘क्रिकेट एक यस्तो खेल हो, जसले एकताबद्ध बनाउँछ र प्रेरणा पनि दिन्छ । यस पहलमार्फत हामी क्रिकेटप्रतिको चाख र यसको शक्ति प्रयोग गरी ग्रामीण र दुर्गम विपन्न क्षेत्रका विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव पार्न चाहन्छौं । शिक्षा दीगो विकासको मुख्य आधार हो । यो पहलले हाम्रो भावी पुस्तालाई सक्षम बनाउने प्रतिबद्धताको प्रतिनिधित्व गर्छ,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।
एनपीएल नेपालको एक प्रमुख क्रिकेट प्रतियोगिता हो र शिक्षाको महत्त्व दर्शाउँदै यो सत्कार्यलाई प्रवद्र्धन गर्ने उपयुक्त प्लेटफर्म हो । क्रिकेट नेपालका समुदायहरूसँग गहिरो सम्बन्ध राख्ने मध्येको एक खेल भएकाले यो पहलले खेलमा रोमाञ्चकता थप्नुका साथै सहयोग र स्रोत बढी आवश्यकता भएकाहरूसम्म आवश्यक सहयोग पुर्‍याउँछ ।

यी शैक्षिक सामाग्रीहरूको वितरण क्रिकेट एशोसिएसन नेपाल (क्यान), स्थानीय निकाय र सरोकारवालाहरूको समन्वयमा गरिनेछ, जसले सामुदायिक विद्यालयका लक्षित विद्यार्थीहरुसम्म यी सामाग्रीहरु पुग्ने सुनिश्चितता गर्नेछ ।

क्यानले एनपीएलका लागि एनसेलसँग साझेदारी सम्झौता गरिसकेको छ । यस साझेदारी अन्तर्गत, एनसेल, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको ‘पावर्ड बाई’ पार्टनरको रूपमा रहेको छ । यसले नेपालको आफ्नै घरेलु क्रिकेट प्रतिभाहरुको निर्माणमा गर्न सहयोग पुर्‍याउनेछ ।

यो साझेदारी एनसेलको ‘हामी तपाईंकै लागि’ भन्ने आफ्नो थिम र नेपालमा क्रिकेट र खेलकुदको विकासमा समर्थन गर्ने प्रतिबद्धता अनुरुप रहेको छ । क्रिकेट दक्षिण एसियाली उपमहाद्वीपका सबैभन्दा लोकप्रिय खेलकुदहरूमध्ये एक हो । एनसेल फाउन्डेसन महत्त्वपूर्ण सामाजिक आवश्यकताहरू पूरा गर्न प्रभावकारी पहल मार्फत समुदायहरूको समृद्धिमा योगदान पुर्‍याउने प्रतिबद्धतामा दृढ रहेको जनाएका छन् ।