काठमाण्डु-भ्रष्टाचार विरोधी कारबाहीमा परेका एक वरिष्ठ चिनियाँ सैनिक अधिकारीलाई ‘अनुशासनको गम्भीर उल्लङ्घन’ गरेको आरोपमा पदबाट हटाइएको छ
चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु कियानका अनुसार सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले मियाओ हुआलाई अनुसन्धान नभएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।
मियाओ चीनको केन्द्रीय सैन्य आयोगमा राष्ट्रपति सी चिनफिङसहित अन्य पाँच सदस्यसँगै कार्यरत थिए । उनले चिनियाँ सैन्य आयोग (सीएमसी)को राजनीतिक कार्य विभागको नेतृत्व गरेका थिए । यो शीर्ष सैन्य निकायको सबैभन्दा महत्त्वपूर्ण कार्यालय हो ।
मियाओ सीको घनिष्ठ सहयोगी र सेना र पार्टीबीच विश्वसनीय वार्ताकारका रूपमा काम गर्थे । बेइजिङले गत वर्ष सशस्त्र बलमा कथित भ्रष्टाचारविरुद्ध कडा कदम चालेको बताएको थियो र यसै महिना सीले सेनालाई भ्रष्टाचार निर्मूल पार्न र आफ्नो युद्ध तयारीलाई मजबुत बनाउन आदेश दिएका थिए ।
नौसेनाका पूर्व कमाण्डर डोङलाई गत डिसेम्बरमा रक्षामन्त्रीमा नियुक्त गरिएको थियो भने सात महिनामै पूर्ववर्ती ली शाङफुलाई अचानक पदबाट हटाइएको थियो ।
लीलाई पछि घूस खोरीलगायत अपराधमा कम्युनिस्ट पार्टीबाट निष्कासित गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । उनका पूर्ववर्ती वेई फेङहेलाई पनि पार्टीबाट निस्काशित गरी भ्रष्टाचारको आरोपमा अभियोजकहरूलाई हस्तान्तरण गरिएको थियो ।
चीनको परम्परागत र आणविक क्षेप्यास्त्रको विशाल भण्डारको रेखदेख गर्ने चीनको गोप्य रकेट फोर्सको विशेष गरी गहन अनुसन्धान भइरहेको छ । गत जुलाईमा रकेट फोर्सका एक उच्च चिनियाँ अधिकारी सन जिनमिङलाई पार्टीबाट निकालियो र भ्रष्टाचारको आरोपमा अनुसन्धानको दायरामा ल्याइयो ।
प्रतिक्रिया