सुशासन, सामाजिक न्याय र समृद्धिका लागि माओवादी लडिरहन्छ : दाहाल

सुशासन, सामाजिक न्याय र समृद्धिका लागि माओवादी लडिरहन्छ : दाहाल


काठमाण्डु – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा माओवादी लडिरहने बताएका छन् । निजी तथा आवासीय विद्यालयको छाता संगठन (प्याब्सन)ले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको काठमाण्डुमा उद्घाटन गर्दै अध्यक्ष दाहालले आफूहरू भ्रष्टाचार र बेथितिका विरूद्ध नयाँ शिराबाट संघर्ष गर्ने बताए ।

उनले युवा जनशक्तिमा स्वाभिमानी, सिर्जनशील र आत्मनिर्भर सोचको विकास गराउन सक्नुपर्ने  बताए । “संविधानले परिकल्पना गरेको समाजवादोन्मुख आर्थिक सामाजिक व्यवस्थाको जग बसाल्न नयाँ पुस्तामा देशप्रति माया गर्ने, श्रमप्रति सम्मान गर्ने र नवप्रवर्तनमा आधारित उत्पादितमा केन्द्रित हुने सोचको विकास विद्यालय तहदेखि नै गराउन आवश्यक छ”, अध्यक्ष दाहालले भने ।

निजी क्षेत्रको प्रयासले प्रतिस्पर्धात्मक शिक्षाको विकास एवं राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्तिको विकासमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै अध्यक्ष दाहालले सरकारी र निजी क्षेत्रले एक–अर्काको बलियो पक्षलाई सदुपयोग गर्दै सहकार्य गर्नुपर्ने बताए ।

“साझेदारीले शिक्षाको गुणस्तर सुधार्न, सबैलाई समान अवसर उपलब्ध गराउन र देशको समग्र शैक्षिक विकासमा ठूलो भूमिका खेल्छ । शिक्षासम्बन्धी संविधानप्रदत्त व्यवस्था र अधिकारसहित दुवै क्षेत्रको साझा प्रयासले मात्र नेपाललाई शिक्षित र समृद्ध समाजतर्फ अघि बढाउन सम्भव हुनेछ”, दाहालले भने, “यसका निम्ति सदाझैँ यहाँहरूको सहकार्य र सहयोगात्मक भूमिका रहने मैले विश्वास लिएको छु ।”

शिक्षामा लगानी भनेको भविष्यमा देशलाई सक्षम बनाउने बाटो भएको उल्लेख गर्दै उनले उच्च नैतिक संस्कारयुक्त, राष्ट्रिय आवश्यकताको बोध गर्न सक्ने, सीपमूलक, उद्यमशीलतामुखी, देशभक्तिपूर्ण भावनाद्वारा अभिप्रेरित, नवप्रवर्तनमा आधारित शिक्षाले मात्र आजको कार्यभार पूरा गर्नसक्ने बताए ।

संघीय शिक्षा ऐन संसदसम्म पुर्याएको उल्लेख गर्दै उहाँले संसदको आगामी अधिवेशनबाट यसलाई पारित गर्न जोड गरिने र ऐनले निजी विद्यालयहरूको सञ्चालन, शुल्क निर्धारण र व्यवस्थापनमा स्पष्ट र कानुनी दिशानिर्देश गर्ने बताए । आफ्नो नेतृत्वको सरकारले विश्वविद्यालय लगायतका शैक्षिक संस्थामा मेरिटोक्रेसी लागू गर्ने घोषणा मात्र नगरी लागु गरेर देखाएको उनको भनाइ थियो ।