प्रधानमन्त्रीको भ्रमणका बेला चीनबाट ऋण पनि लिनुपर्छ : उपसभापति वाग्ले

प्रधानमन्त्रीको भ्रमणका बेला चीनबाट ऋण पनि लिनुपर्छ : उपसभापति वाग्ले


तनहुँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा नेपालले चीनबाट अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

शनिबार दमौलीमा आयोजित पार्टीको जिल्ला भेलामा उपसभापति वाग्लेले चीन मात्र नभई भारत लगायत बहुपक्षीय निकायबाट नेपालले सहयोग लिनुपर्ने बताए ।

नेपालमा पूर्वाधारको अभाव खड्किएकाले सहयोगी निकायबाट अनुदान वा ऋण लिनुपर्ने डा. वाग्लेको भनाइ छ । ‘१ प्रतिशत ब्याज भए ऋण नै लिए पनि फरक पर्दैन । ३०–४० वर्षमा रकम फिर्ता गर्नुपर्ने प्रकृतिको ऋण भए स्वीकार्नुपर्छ,’ उनले भने, ‘केही राजनीतिक दलले चीनबाट ऋण लिनै हुँदैन भन्ने प्रकृतिका अभिव्यक्ति दिनु अपरिपक्व छ । सन्तुलित र परिपक्व हिसाबले नेपाल अगाडि बढ्नुपर्छ ।’

मिसन २०८४ को तयारीका निम्ति अहिलेदेखि नै लाग्नुपर्नेमा उपसभापति वाग्लेले जोड दिए । उनले पार्टी सभापति रवि लामिछाने पक्राउपछि तयारीमा ढिलाइ हुँदा आसन्न उपनिर्वाचनमा केही ठाउँमा पार्टीका उम्मेदवार नउठाइएको स्पष्ट पारेका छन् ।