कांग्रेसलाई घाटा लाग्यो स्थानीय तह उपनिर्वाचन

कांग्रेसलाई घाटा लाग्यो स्थानीय तह उपनिर्वाचन


काठमाण्डु – प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई १६ मंसिरमा भएको स्थानीय तह उपनिर्वाचनमा घाटा लागेको छ ।

स्थानीय तहमा २०७९ मा भएको निर्वाचनमा कांग्रेसका तर्फबाट जितेका कीर्तिपूर नगरपालिका प्रमुख काठमाण्डौँ, जाजरकोटको नलगाढ नगरपालिका उपप्रमुख, दैलेखको महाबु गाउँपालिका अध्यक्ष बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष र दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष रिक्त भएका थिए ।

ती मध्य कांग्रेसले मोरङको ग्रामथान गाँउपालिका अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष र दैलेखको महाबु गाउँपालिका अध्यक्ष गुमाएको छ ।

कीर्तिपुर नगरपालिका र दोलखाको गौरीशंकर गाँउपालिका उपाध्यक्षमा मतगणना भइरहेको छ । गौरीशंकरमा भर्खर मतगणना सुरु भएको छ, कीर्तपुरमा कांग्रेसले अग्रता ल्याइरहेको छ ।

स्थानीय तहका रिक्त ४४ पदको उपचुनावमा अब नतिजा आउन ७ स्थान मात्र बाँकी रहेको बेलामा अन्तिम नतिजा सार्वजनिक भएका मध्ये कांग्रेसले १७ वडामा मात्रै कांग्रेसले जितेको छ । कांग्रेसका वडाअध्यक्षका उम्मेदवारले कोशी प्रदेशमा ३, मधेशमा २, लुम्बिनीमा ३, कर्णालीमा २ र सुदुरपश्चिमा ५ पदमा विजयी भएका छन् । अब नतिजा आउन बाँकी सबै क्षेत्र जित्यो भनेपनि कांग्रेसको सिट संख्या २४ मात्र हुन्छ ।
तर पुथा उत्तरगंगामा कांग्रेसका उम्मेदवार नै छैनन् ।

यसले कांग्रेसले २०७९मा जितेका सिट गुमाउने निश्चित भइसकेको छ ।

कांग्रेसले २०७९मा जितेको मोरङको ग्रामथान गाउँपालका अध्यक्ष माओवादीले खोसेको छ । माओवादी केन्द्रका नमोनारायण माझी ६९६९ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बलराम सरदार थारुले ५३३३ मत पाए । २०७९ साल वैशाखमा सम्पन्न चुनावमा तेस्रो भएको माओवादी केन्द्रले उवनिर्वाचनमा बाजी मारेको हो ।

त्यस्तै २०७९ को निर्वाचनमा कांग्रेसले जितेको जाजरकोटको नलगाडको उपप्रमुख पद पनि माओवादीले खोसेको छ । ४२७२ मत ल्याएर माओवादीकी देवका लामिछाने विजयी हुँदा कांग्रेसकी इन्द्रा चन्द सिंह ३१४७ मत मात्रै ल्याउन सकिन ।

यता दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पद कांग्रेसबाट एमालेले खोसेको छ । त्यहाँ नेकपा एमालेका जंगबहादुर शाही ३१२७ मत ल्याएर विजयी भए । कांग्रेसका झलकबहादुर भण्डारीले २६७५ मत मात्रै ल्याउन सके ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पनि कांग्रेसबाट एमालेले खोसेको छ । एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा एक हजार ७४० मत प्राप्त गरेर विजयी भइन् । कांग्रेसकी पुल्तिसरा शाहीले एक हजार ४७४ मतमात्रै ल्याउन सकिन् ।

वडाध्यक्षमा भने कांग्रेसले केही स्थानमा अरु दलले जितेका पनि खोस्न सफल भएको छ । कांग्रेसले कीर्तिपुर नगरपालिकाको एक र ४ वडा, कञ्चनपुरको भिमदत्त नगरपालिका ६, रोल्पाको रुन्टीगढी गाउँपालिका ४, बर्दियाको ठाकुरबाबा नगरपालिका ४, जाजरकोटको कुसे गाउँपालिका ७ मा वडाध्यक्ष जितेको छ । हेटौडा उपमहानगरपालिका १२, गुल्मीको मुसिकोट नगरपालिका १, सुनसरीको गढी गाउँपालिका ६, रौतहटको राजपुर नगरपालिका ६, बझाङको सूर्मा गाउँपालिका ४, रौतहटको ईशनाथ नगरपालिका ७, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ को वडाध्यक्ष कांग्रेसले जितेको छ ।

त्यस्तै डोटीको पूर्वीचोकी गाउँपालिका ६, तेह्रथुमको लालीगुराँस नगरपालिका ८, दार्चुलाको दुहु गाउँपालिका ५ मा कांग्रेसले वडाध्यक्ष जितिसकेको छ ।