काठमाण्डु – हालैका दिनमा बंगलादेशमा भएको उत्पीडनको समाचार र सनातन जागरण मञ्चका प्रवक्ता चिन्मय कृष्ण दासको गिरफ्तारी पछि दक्षिण एशियाका दुई छिमेकी भारत र बंगलादेशको सम्बन्ध गम्भीर मोडमा पुगेको छ ।
यी घटनाका विषयमा दुवै देशले एकअर्कालाई दोषारोपण गर्दै टीका टिप्पणी गरिरहेका छन् । यसका साथै भारत र बंगलादेशमा एकअर्काविरुद्ध अभियान र विरोध प्रदर्शन भइरहेका छन्।
भारतको कोलकतामा रहेको बंगलादेशको उप उच्चायोग अगाडि भएकोफ प्रदर्शनमा बंगलादेशको झण्डा जलाइएको थियो ।
उता, बंगलादेशमा अल्पसंख्यक र उनीहरूको उपासना स्थलसँग सम्बन्धित केही व्यक्तिमाथि ज्यान मार्ने धम्की दिइएको थियो । हिन्दू मन्दिरमा पनि तोडफोड भएको छ ।
पछिल्लो समयमा भएका यी घटनाहरूले दुई देशबीचको तनाव उत्सर्गमा पुगेको छ । बंगलादेशमा अल्पसंख्यक समुदायमाथि भइरहेको ज्यादतीप्रति त्यहाँको सरकारमाथि पनि केहीले प्रश्न उठाएका छन् । अल्पसंख्यकहरूमाथि भइरहेको घटनाका वियषयमा आन्तरिक र कूटनीतिक रूपमा सरकारले ठिक तरिकाले काम गर्न नसकिरहेको बंगलादेशका विश्लेषकहरूले बताउन थालेका छन् ।
बंगलादेशमा अल्पसंख्यकहरूमाथि भइरहेको घटना रोक्न सरकारले नसकेको भन्दै आलोचना भइरहेको छ । यस्तो अवस्थामा सहि कदम नउठाइए भविष्यमा के हुने भन्ने चिन्ता उनीहरूको छ ।
भारतका विदेश मन्त्री एस. जयशंकरले गत हप्ता संसद्मा बोल्दै बंगलादेशमा त्यहाँको मन्दिर र अल्पसंख्यका धार्मिक स्थलमा आक्रमण भइरहेको जानकारी गराएका थिए । यस विषयमा भारतले आफ्नो गम्भीर चासो र चिन्ता जनाएको थियो ।
भारतको यस कदमप्रति बंगलादेशले आपत्ति जनाएको छ ।
बंगलादेशमा विशाल जनप्रदर्शनपछि यसै वर्ष ५ अगस्टमा पूर्वप्रधानमन्त्री शेख हसिना देश छाडेर भारतमा शरण लिएकी छन् । यसपछि ८ अगस्तमा अन्तरिम सरकार गठन भयो ।
अन्तरिम सरकार गठन हुनुपूर्व बंगलादेशका केही स्थानमा अल्पसंख्यक समुदाय र उनीहरूका विभिन्न प्रतिष्ठानमाथि आक्रमण भएको थियो । यस क्रममा हिन्दु, बौद्ध ईसाई एकता परिषद्ले २९ जिल्लामा अल्पसंख्यक समुदायका घर, व्यवसाय र पूजास्थलहरूमा तोडफोड भएको भन्दै गुनासो दर्ता गरेको थियो ।
अल्पसंख्यकमाथि भएको आक्रमण र बर्बरतालाई निन्दा गर्दै मानव श्रृंखला र विरोध मार्च पनि आयोजना गरिएको थियो ।
हिन्दू बौद्ध ईसाई एकता परिषदका सदस्य सुब्रत चौधरी भन्छन, ‘अहिले पनि आक्रमण भइरहेको छ । शिक्षण संस्थानरूमा कयौं शिक्षकहरूलाई राजीनामा दिन विवस पारिएको छ । सरकार विफल भएको छ । सरकारमा अस्थिरता देखिएको छ । अल्पसंख्यकमाथि भइरहेको उत्पीडनविरुद्ध कारवाही गर्न सरकारले अनिच्छा देखाइरहेको छ ।’
चिन्मय कृष्ण दास पक्राउ परेपछि भारतका हिन्दु संगठनहरूले आक्रामक प्रतिक्रिया दिइरहेका छन् । बंगलादेशमा पनि दास पक्राउ र भारत विरोधी अभियान सुरू भएको छ ।
भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘अल्पसंख्यकहरूमाथि आक्रमण गर्ने अपराधी कानुनी दायराभन्दा बाहिर छन् । अन्यायविरुद्ध बोल्ने धार्मिक नेता पक्राउ परेका छन् ।’
यता, बंगलादेशको विदेश मन्त्रालयले पनि भारतको टिप्पणी प्रति चिन्ता व्यक्त गर्दै भारतले पालिरहेको भ्रामक जानकारी दुई छिमेकीको मैत्रीपूर्ण सम्बन्धको भावनाविरुद्ध भएको बताएको छ ।
कोलकतामा बंगलादेशको उप उच्चायोग अगाडि बंगलादेशको राष्ट्रिय ध्वजा र मुख्य सल्लाहकार मुहम्मद यूनुसको पुत्ला जलाइएको विषयमा कडा निन्दा बंगलादेशले गरेको थियो ।
शुक्रबार पनि भारतको विदेश मन्त्रालयले साप्ताहिक ब्रिफिङमा बंगलादेशको मुद्दा उठाएको थियो ।
मन्त्रालयका प्रवक्ता रणधीर जयसवाल भन्छन्, ‘हाम्रो स्थिति स्पष्ट छ । बंगलादेशको सरकारले सबै अल्पसंख्यहरूको सुरक्षाको जिम्मा लिनुपर्छ ।’
बंगलादेश सरकारमा सल्लाहकार रहेका आसिफ नजरूलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बंगलादेशको स्थितिका बारेमा भारतको अनुचित चिन्ता बन्द भएको छैन । भारतमै अल्पसंख्यक मुस्लिम समुदायमाथि अत्याचारका अनगिन्ति घटना भएका छन् । तर भारतलाई आफूले गरेको यस्तो कार्यबाट लाज छैन ।’ उनले भारतले द्वैध चाल चालिरहेको टिप्पणी पनि गरेका छन् ।
बंगलादेशका सूचना र प्रसारण मन्त्रालयका सल्लाहकार नाहिद इस्लामले चिन्मय कृष्ण दासको पक्राउको विषय उचालेर भारतले भडकाउको राजनीति गरिरहेको आरोप लगाएका छन् ।
बंगलादेशका राजनीतिक विश्लेषक सब्बीर अहमदले मुद्दालाई समयमै सम्बोधन नगरिए अवस्था अझै बिग्रन सक्ने चेतावनी दिए ।
‘यदि कुनै संगठन धार्मिक छ भने समस्या छैन । तर, यदि धार्मिक संगठनले राजनीतिक भूमिका खेल्न थाल्छ भने यसबाट सन्देह पैदा हुन्छ ।’
भारतको बीजेपी हिन्दुत्ववादी पार्टी भएकाले यस्तो मुद्दाहरू उठाइरहेको उनको भनाइ छ ।
उनले भने, ‘यस विषयमा भारत र बंगलादेशबीच सम्बन्धमा असर नपर्ने गरी दुवै देशले ख्याल गर्नुपर्छ । यदि भारतसँगको सम्बन्धमा असर पर्छ भने यसबाट बंगलादेशलाई नै बढी अहित हुन्छ,’उनी भन्छन् ।
प्रतिक्रिया