काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुगेका छन् । हिमालय एयरलाइन्सका अनुसार प्रधानमन्त्री ओली नेतृत्वको टोली चीनको स्थानीय समयअनुसार साँझ ६ बजे बेइजिङ क्यापिटल इन्टरनेसनल विमानस्थल पुगेका हुन् ।
समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा ४ दिने औपचारिक भ्रमणका लागि ओली नेतृत्वको टोली चीन गएको हो ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नेछन्। त्यस्तै उनले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन्। प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ।
प्रतिक्रिया