काठमाण्डु – नेपाल एपीएफ अस्पतालका चिकित्सकहरूमध्ये ९ जना एसोसिएट प्रोफेसर र ९ जना असिस्टेन्ट प्रोफेसरको उपाधिबाट सम्मानित भएका छन् ।
नेपाल एपीएफ अस्पताल बलम्बुमा सोमबार आयोजित समारोहबीच सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले उनीहरूलाई जिम्मेवारी तथा प्रमाणपत्र प्रदान गरेका हुन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सिनेट (नेम्स) र नेपाल एपीएफ अस्पताल बलम्बुबीच स्नातकोत्तर र स्नातक नर्सिङ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा २०८० माघ २५ गते सम्झौता भएअनुरूप उनीहरूलाई नेम्सद्वारा शैक्षिक दरबन्दी अनुरूपको जिम्मेवारी तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा आईजीपी अर्यालले नेपाल एपीएफ अस्पतालले संगठनमा आवद्ध राष्ट्रसेवक तथा आश्रित परिवारजनलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्नुका साथै आपतकालीन समयमा आमनागरिकलाई समेत सेवा प्रदान गर्दै आइरहेको बताउँदै चिकित्सा क्षेत्रमा अथक परिश्रम, समर्पण र योगदानको उच्च मूल्यांकन स्वरूप एसोसिएट प्रोफेसर र असिस्टेन्ट प्रोफेसरको उपाधि हासिल गर्न सफल कन्सल्टेन्ट चिकित्सकहरूलाई नयाँ जोस र उत्प्रेरणाका साथ प्राप्त जिम्मेवारी निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।
उनले नयाँ प्रविधि र अनुसन्धानका माध्यमबाट चिकित्सा सेवाको गुणस्तरमा आमूल सुधारहरू भइरहेको वर्तमान अवस्थामा स्वास्थ्यकर्मीहरूले बिरामीलाई सेवा प्रदान गर्दा समर्पण, इमान्दारिता र संवेदनशीलताले मात्रै बास्तविक रूपमा चिकित्सा पेशाको मान राख्न सकिने र आफ्नो कार्यप्रतिको लगाव र सकारात्मक धारणा रहिरहेमा जुनसुकै कार्यमा पनि सफलता मिल्ने बताए ।
कार्यक्रममा नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा. रुपक महर्जनले धन्यवाद ज्ञापनको क्रममा नेपाल एपीएफ अस्पतालले उत्कृष्टता प्रदर्शन गरी २०५८ फागुन २ गते मेडिकल शाखा हुँदै २०६२ चैत्र ७ गते ११० शैया र २०८१ असोज ४ गते ३०० शैयाको विशिष्टिकृत अस्पतालको रूपमा स्तरोन्नति गर्न सफल भएको बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र बंशीराज दाहाल, सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू, नेपाल एपीएफ अस्पताल बलम्बुका चिकित्सकहरू र सशस्त्र प्रहरी बल नेपालका अधिकृतको उपस्थिति थियो ।
प्रतिक्रिया