हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले योजनाहरू कार्यान्वयनका लागि स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर अघि बढ्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
हेटौंडा उपमहानगरपलिका–१२ को चुनावी विजयी सभालाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री लामाले प्रदेश सरकार जहिले पनि स्थानीय तहसँग समन्वय र सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।
वडा र पालिकाका योजनाको कार्यान्वयन गर्न आपसी छलफलका माध्यमबाट अघि बढ्ने बताउँदै उनले संविधानमा भएको प्रदेश सरकार र स्थानीय तहको साझा अधिकारलाई कार्यान्वयन गर्न प्रदेश सरकार प्रयत्नशील रहेको बताए ।
योजना कार्यान्वयका लागि स्थानीय सरकारलाई आवश्यक ऐन, कानून स्थानीय तहसँग समन्वय गरेर प्रदेश सरकारले निर्माण गरिरहेको बताउँदै मुख्यमन्त्री लामाले प्रदेश सरकारलाई चाहिने आवश्यक थुप्रै ऐन, कानुन बनेर कार्यान्वयनको प्रक्रिया गइसकेकोले अब स्थानीय तहलाई आवश्यक ऐन, कानून बनाउन प्रदेश सरकार जोड दिएको बताए ।
विजयी सभामा हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्षमा नवनिर्वाचित अर्जुनप्रसाद तिवारीले उपनिर्वाचनका क्रममा जनतासँग आफूले गरेको वाचा पूरा गर्न प्रतिबद्ध रहेको बताउँदै आफ्नो अमूल्य मत दिएर विजय गराउने मतदाताप्रति आभार समेत व्यक्त गरेका छन् ।
प्रतिक्रिया