माओवादी वर्तमान सरकार ढालेर सरकारमा जान लालायित छैन : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

माओवादी वर्तमान सरकार ढालेर सरकारमा जान लालायित छैन : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ


सिरहा – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी वर्तमान सरकार ढालेर सरकारमा जान हतार नगर्ने बताएका छन् ।

सिरहाको गोलबजार नगरपालिका नगर कमिटीको आयोजनामा वडा नम्बर ३ मुसहर्नियामा आयोजित ३ दिने अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा उद्घाटन सत्रमा उनले भने, ‘वर्तमान सरकार ढालेर सरकारमा जान लालायित छैनौं । मुख्य कुरा परिवर्तन ल्याउन सक्ने गरी मात्र सरकारमा जान्छौं ।’

पार्टीले यतिबेला सरकारभन्दा पनि पार्टी र संगठन निर्माणलाई जोड दिएको उनको भनाइ थियो । नेता श्रेष्ठले ५ वटा कार्यभार आत्मसात गरेर माओवादी पार्टीअघि बढेको बताए ।

‘राष्ट्रको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनता जोगाउने पहिलो कार्यभार हो भने आन्दोलनको बलमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान जोगाउनु दोस्रो कार्यभार हो । मुलुकलाई समृद्धि र समाजवादतर्फ लैजानु तेस्रो कार्यभार हो,’ उनले भने, ‘सुशासनको ग्यारेण्टी गरी सामाजिक न्यायको प्रत्याभूति दिलाउनुु चौथो कार्यभार हो । हामी कम्युनिष्ट भएकाले मुलुकमा पूर्ण समाजवाद कायम गराउनु हाम्रो मूल अभिष्ट र मुख्य कार्यभार हो ।’

प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका सचिव तथा मधेश प्रदेश इन्चार्ज लिलामणि पोखरेल, उपमहासचिव गिरिराजमणि पोखरेल, स्थायी समिति सदस्यद्वय प्रशुराम तामाङ र विश्वनाथ साह तथा वैकल्पिक केन्द्रीय सदस्य चन्देश्वर गडेरी लगायत नेताहरू प्रशिक्षकका रूपमा सहभागी छन् ।

माओवादी केन्द्रका नगर समिति सदस्य धनप्रसाद लामाका अनुसार प्रशिक्षण शिविर ३ दिनसम्म सञ्चालन हुनेछ । यस अवधिमा सिरहा जिल्लाका पार्टीका अगुवा कार्यकर्तालाई समसामयिक विषयमा प्रशिक्षण दिइने जनाइएको छ ।