काठमाण्डु – होटल सब्रिना लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
सोमबार बसेको कम्पनीको छैटौं साधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।
कम्पनीका संस्थापक तथा अध्यक्ष निराजन थापाले ९० करोड अधिकृत पुँजी र ५३ करोड रुपैयाँ जारी पुँजी रहेको होटलको चुक्तापुँजी ३५ करोड ६५ लाख रुपैयाँ रहेको जानकारी दिए । कम्पनीले न्यूनतम १५ लाख कित्ताको १५ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको छ ।
आईपीओका लागि गत असारमा कम्पनीले संस्थागत परामर्श सेवा तथा प्राथमिक शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त गरेको थियो ।
केही दिनमै नियामक निकाय धितोपत्र बोर्डमा आईपीओ निष्काशनको तयारी भएको कम्पनीका अध्यक्ष थापाले बताए ।
काठमाण्डुको बुढानिलकण्ठ–६ गणेश चोकस्थित होटेल सब्रिनाले क्षमता विस्तार गर्दै पाँचतारे स्तरमा स्तरोन्नति गर्नका लागि आईपीओ आवश्यक भएको जनाएको छ ।
अपार्टमेन्टसहित ६० वटा कोठामा सेवा सञ्चालन गर्दै आइरहेको होटलले आईपीओबाट पुरानो ऋण चुक्ता गरेर नयाँ कोठा समेत थप गर्ने उद्देश्य लिएको छ ।
प्रतिक्रिया