काठमाण्डु – प्रधानसेनापति अशोकराज सिग्देल २६ मंसिरमा भारत भ्रमणमा जाने भएका छन् । सैनिक मुख्यालयका अनुसार सिग्देल मंसिर २६ मा ५ दिने भ्रमणका लागि भारत जान लागेका हुन् ।
प्रधानसेनापति सिग्देल भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको निमन्त्रणामा भारत भ्रमणमा जान लागेका हुन् । भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्न प्रधानसेनापति सिग्देल भारत जान लागेका हुन् ।
नेपालले भारतको र भारतले नेपालको प्रधान सेनापतिलाई मानार्थ महारथीको दर्ज्यानी दिने परम्परा अनुरूप नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गरेका थिए ।
उनलाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
भारतीय सेनाध्यक्ष द्विवेदी मंसिर ५ गते नेपाल आएर ९ गते स्वदेश फर्केका थिए । भारत भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको निकटस्थ स्रोत बताउँछ ।
प्रतिक्रिया