काठमाण्डु-स्वरसम्राट नारायण गोपालको ३४ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैँ छ । कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट १९९६ असोज १८ गते काठमाडौंमा भएको थियो ।
उनको २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो ।
उनका कालजयी गीतहरूले नेपाली गीत संगीतको स्वरुप नै बदलिदिएको छ । प्रेम र देशभक्ति गीत गाउन मनपराउने स्वरसम्राट शब्द र संगीतमा निकै ध्यान दिन्थे । उनका सबै गीत कालजयी छन् ।
स्वरसम्राटको सम्झना र नेपाली संगीतलाई जीवित राख्न नारायणगोपाल संगीत कोषले हरेक वर्ष उनको पुण्य तिथिमा काठमाडौंको महाराजगञ्जस्थित उनकै निवासमा कार्यक्रम गर्दै आएको छ । ३० वर्षको गायनयात्रामा उनले १३७ गीत गाएका छन् ।
साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका समेत प्रकाशन गरेका थिए ।
उनलाई २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो प्रदान गरियो ।
दार्जिलिङकी पेमला लामासँग विवाह गरेका नारायणगोपाल निःसन्तान रहे । पेमलाको निधन २०६१ असार १६ गते भएको थियो ।
प्रतिक्रिया