सुर्खेत – गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानमा प्रभाव पार्ने गरी बोलेर बेठिक गरेको बताएका छन् ।
मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा गृहमन्त्री लेखकले भने, ‘कसैले पनि अनुसन्धानलाई प्रभावित गर्ने, अदालतलाई प्रभावित गर्ने, न्यायिक प्रक्रियालाई प्रभावित पर्ने ढंगले बोल्नु बेठिक हो । त्यसमा पनि प्रमुख प्रतिपक्षी दलको नेताले नै यस्तो काम गर्नु झनै दुर्भाग्यपूर्ण हो ।’
लामिछाने आबद्ध दलका समर्थकहरूले पनि अनुसन्धानमा प्रभाव पार्न माओवादीको समर्थनमा विभिन्न गतिविधि गरिरहेको बताए । ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो नभएको लेखकको भनाइ छ ।
गृहमन्त्री लेखकले सरकार ढल्छ भन्ने हल्ला फैल्याएर सरकारलाई नै अस्थिर बनाउने षड्यन्त्र भएको बताए । ‘सरकार ढल्छ भन्ने हल्लामा कुनै आधार छैन, सरकारमा भएका दलहरूबिच सौहार्दपूर्ण सम्बन्ध छ । हल्लाको पछि नलाग्नुहोस्’ उनले भने ।
प्रदेशस्तरीय सुरक्षा परिषद्को बैठकमा सहभागी हुन गृहमन्त्री लेखक सुर्खेत पुगेका हुन् ।
प्रतिक्रिया