काठमाण्डु – नेकपा एमालेले हालैको स्थानीय तह उपनिर्वाचनमा काठमाण्डु र कीर्तिपुरमा भएको हारको समीक्षा गर्दै शहरी जनमतसँग पार्टीलाई जोड्न नसकेको निष्कर्ष निकालेको छ ।
मंगलबार बसेको एमाले सचिवालय बैठकमा हालै सम्पन्न उपनिर्वाचनबारे समीक्षा गर्दै एमालेले पार्टीलाई शहरी जनमतसँग जोड्नुपर्ने निष्कर्ष निकालेको छ ।
बैठकले उपनिर्वाचन भएका ४२ मध्ये आफ्नो पार्टीबाट जितेका ७ वडा सबै फिर्ता नगरे पनि अध्यक्ष र उपाध्यक्षसहित ८ पदमा जीत निकालेकोमा उपलब्धिका रूपमा लिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनले भने, ‘उपनिर्वाचनबाट थप उपलब्धि हासिल गरेको छ । जितेका ७ रिक्त भएकोमा समग्रमा ८ स्थानमा जितेको छ तर समग्र परिणामलाई गम्भीर रूपमा लिएका छौं । कीर्तिपुर र काठमाण्डु महानगरपालिका–१६ मा अपेक्षाअनुरूप परिणाम नआएकोमा गम्भीर हुनुपर्ने निष्कर्ष निकालेका छौं ।’
कीर्तिपुर र काठमाण्डु महानगर–१६ मा भएको हारलाई शहरी जनमतसँग पार्टीलाई जोड्नुपर्ने निष्कर्ष निकालेको उनले बताए ।
एमालेले आफ्नो मात्र नभएर सबैको हकमा जनमत चेन्ज भएको देखिएको र त्यसलाई गम्भीर रूपले लिँदै जनप्रतिनिधिहरूले जनताको मत जित्न सक्नुपर्ने ठहर गरेको छ ।
एमालेले मंसिर १७–२० गतेसम्म भएको एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र भ्रमणमा भएको बीआरआई फ्रेमवर्क सहमतिलाई सरकारको सफलता भनेको छ ।
उनले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको छ । चीनसँग भएका सहमति दुवै देशले शीघ्र कार्यान्वयनमा जानुपर्छ भन्ने एमालेको निष्कर्ष छ ।’
प्रतिक्रिया