काठमाण्डु – नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा तत्कालिन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि ०६१ साल जेठ २१ प्रधानमन्त्री भए । देउवा ०६१ साल माघ १९ को काण्डमा ज्ञानेन्द्रले देउवालाईै बर्खास्त गरे । त्यसपछि उनलाई ज्ञानेन्द्रले १० महिना नजरबन्दमा राखे । त्यो बेलामा सुदीप पाठक मानव अधिकार आयोगको सदस्य थिए ।
तर, पाठकले देउवालाई नजरबन्दबाट छुटाउन कुनै पहल गरेनन् । बरु देउवालाई सरकारले बन्दी बनाउँदा पाठक आयोगको सदस्यको हैसियतमा राजाको शासनको समर्थन गरिरहेका थिए । अहिले तीनै पाठकलाई देउवाले नै सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा अघि सारेका छन् । २० मंसिरको साँझ प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालसँगको बैठकमा देउवाले पाठकको नाम अगाडि सारेका छन् ।
देउवाले राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य पाठकलाई सत्य निरुपण आयोगको अध्यक्षमा वचन दिइसकेको बताउँदै पाठकको नाममा अडान लिएका हुन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगको अध्यक्षका लागि सिफारिस गर्न गठित समितिले आठ जनाको नाममा सर्ट लिस्ट बनाएको छ । सर्ट लिस्टमा डिल्लीराज आचार्य, शेरबहादुर केसी, सुदीप पाठक, विजय सिजापति, विश्वराज कोइराला, महेश थापा, अच्युतप्रसाद भण्डारी र काशीराज दाहाल छन् । ती मध्य देउवाले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा पाठकको नाम अघि सारेपछि प्रधानमन्त्री ओली र कांग्रेसका अन्य नेताहरू आश्चर्यचकित भएका छन् ।
माओवादी अध्यक्ष दाहाल भने देउवाले सिफारिस गर्ने उम्मेदवारलाई समर्थन गर्ने बताइसकेका छन् ।
राधेश्याम अधिकारी र गणेशदत्त भट्टको नाम छोडेर देउवाले पाठकको नाम अगाडि सारेपछि कांग्रेसभित्र पनि विरोधको स्वर सुनिन लागेको छ । द्वन्द्वपीडितहरूका विभिन्न २५ संस्थाले विज्ञप्ति निकालेर नै पाठकको नाममा विरोध गर्ने, देउवालाई पाठक नभइ नहुने भएपछि सिफारिस समिति नै संकटमा परेको थियो ।
सत्ता गठबन्धनमा प्रधानमन्त्री ओली कांग्रेस सभापति देउवाको वचन उछिनेर जान सक्ने अवस्थामा छैनन् । माओवादी देउवाकै उम्मेदवारलाई समर्थन गर्ने ध्याउन्नकमा लागेपछि विवादित पाठक हुने सम्भावना प्रवल बनेको छ ।
राष्ट्रिय मानवअधिकार आयोगको सदस्य हुँदा पाठकको भूमिकाको आलोचना भइरहेको छ । ज्ञानेन्द्र शाहको शासन कालमा कांग्रेसका नेताहरूलाई नजरबन्दमा राख्दा पनि चुइक्क नबोल्ने पाठबकलाई देउवाले काखी च्यापेपछि कांग्रेसभित्र विरोध भएको छ । देउवाको गुटभित्र र इतर समूहका नेताहरूले देउवालाई भेटेरै विरोध जनाएको नेताहरू बताउँछन् ।
अर्कोतर्फ पाठकले मानवअधिकार संगठनको नाममा ‘फ्रि तिब्बत आन्दोलन’लाई प्रवर्द्धन गरेको आरोप र विवाद अमेरिकी दूतावाससम्म तन्किएको निकटस्थ स्रोत बताउँछ । अमेरिकन दूतावासले पनि अनौपचारिक रूपमा पाठकको नाममा असहमति जनाएको स्रोतहरू बताउँछन् ।
माओवादीनिकट द्वन्द्वपीडितले फुजेल प्रकरणका कारण पाठकको नाममा विरोध जनाइरहेका छन् । गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा पाठक माओवादी नेताहरूविरुद्ध सक्रिय अभियानमा थिए ।
मानवअधिकारकर्मीको हैसियतमा पाठक नन्दप्रसाद अधिकारीलाई काठमाडौंमा अनशन बसाउने भूमिकामा सक्रिय भएकाले माओवादीनिकट द्वन्द्वपीडितहरू एकपक्षीय भूमिका निर्वाह गरेका पाठकलाई आयोगमा लैजान नहुने भन्दै आन्दोलनमा छन् ।
तर, माओवादी अध्यक्ष दाहाल पाठककै पक्षमा उभिएका छन् । दाहाल पाठकको पक्षमा देखिनुलाई माओवादी नेताहरूले आश्चर्यजनक मानेका छन् ।
प्रतिक्रिया