परराष्ट्रमन्त्री राणाद्वारा युरोपियन युनियनका उच्च अधिकारीसँग भेटवार्ता

परराष्ट्रमन्त्री राणाद्वारा युरोपियन युनियनका उच्च अधिकारीसँग भेटवार्ता


काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्राले भेटवार्ता गरेकी छन् ।

बेल्जियमको ब्रसेल्समा बिहीबार भएको भेटका अवसरमा नेपाल–यूरोपियन युनियन सम्बन्ध, नेपालको आर्थिक सामाजिक क्षेत्रमा युरोपियन युनियनले पुर्‍याउँदै आएको सहयोग र आगामी दिनमा निरन्तर रहने साझेदारिताबारे कुराकानी भएको थियो ।

नेपाल र युरोपियन युनियनले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वर्ष मनाइरहेकोबारे उनीहरूबीच कुराकानी भएको थियो । नेपाल र युरोपियन युनियनबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

नेपाल सदैव प्रजातन्त्र, कानूनी शासन र मानवअधिकारका पक्षमा रहेको जानकारी गराउँदै मन्त्री डा. राणाले यस क्षेत्रमा युरोपियन युनियनले नेपाललाई प्रदान गर्दै आएको सहयोगको सराहना गरिन् । युरोपियन युनियन नेपालको एक महत्त्वपूर्ण विकास साझेदार रहेको स्मरण गर्दै मन्त्री डा. राणाले नेपालको आर्थिक सामाजिक क्षेत्रमा युनियनले पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद पनि ज्ञापन गरिन् ।

त्यसअवसरमा परराष्ट्रमन्त्री डा. राणाले नेपालका तर्फबाट आफूले केही दिनअघि मात्र हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र जलवायु न्यायबारे कुरा उठाएको जानकारी पनि उनलाई गराएकी थिइन् ।

मन्त्री डा. राणाले कमिसनर ओपकेलाई नेपालमा परेको जलवायु परिवर्तनको असर तथा पछिल्ला वर्षहरूमा यसबाट नेपालले व्यहोर्नु परिरहेको अकल्पनीय क्षतिबारे जानकारी गराउँदै नेपालले पाउनुपर्ने जलवायु न्यायका पक्षमा युरोपियन युनियनसँग सहयोगको अपिल पनि गरेकी थिइन् ।

मन्त्री डा.राणाले युरोपेली आकाशमा नेपाली वायुसेवालाई लगाइएको प्रतिबन्ध (सेफ्टी लिस्ट) सम्बन्धी प्रावधान हटाउने विषयमा पहल गर्न पनि कमिसनर ओपकेलाई आग्रह गरेकी थिइन् । यसका कारण नेपालबाट सिधा उडान हुन नसक्दा नेपाली नागरिकलाई युरोप आवतजावतमा समस्या पर्न गएकोप्रति उनले युरोपियन युनियनको ध्यानाकर्षण गराएकी थिइन् ।