एम्बुलेन्स दुरुपयोगको सूचना दिन स्वास्थ्य मन्त्रालयको आह्वान

एम्बुलेन्स दुरुपयोगको सूचना दिन स्वास्थ्य मन्त्रालयको आह्वान


काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स दुरुपयोगको सूचना दिन आह्वान गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यदि कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग गरिएका सूचना भएमा मन्त्रालयको विभिन्न सञ्जालमा पठाउन आग्रह गरेका छन् ।

सूचना प्राप्त भएमा मन्त्रालयको ह्वाट्सएप र भाइबर नम्बरः ९८५१३३०५९२, मन्त्रालयको फेसबूक तथा एक्स (ट्वीटर), मन्त्रालयको इमेल वा सोझै मन्त्रालयमा वा हुलाकमार्फत मन्त्रालयमा आफ्नो गुनासो पठाउन सकिने उनले जानकारी गराए ।

बिहीबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै हाल देशका विभिन्न स्थानमा एम्बुलेन्स सेवाको दुरुपयोग भएको गुनासो प्राप्त भइरहेको जनाएको छ ।

‘एम्बुलेन्स दुरुपयोग रोक्न मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको छ, राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार एम्बुलेन्स सेवाको दुरुपयोग भएको प्रमाणित भएमा सम्बन्धित एम्बुलेन्सलाई सचेत गराउनेदेखि निलम्बन र खारेजीसम्मको प्रक्रिया अगाडि बढाउने व्यवस्था रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘देशभर सञ्चालित एम्बुलेन्सलाई एकद्वार प्रणालीमार्फत छिटो र छरितो रूपमा सञ्चालन गरी बिरामी घाइतेलाई अस्पतालसम्म पुर्‍याइ नागरिकलाई सहज र सरल आकस्मिक स्वास्थ्य सेवासहितको एम्बुलेन्स सेवा सञ्चालनमा रहेको छ ।’

उनले मन्त्रालयबाट एम्बुलेन्स निर्देशिकामा कार्यान्वयनमा रहेको र निर्देशिका बमोजिम मापदण्ड पूरा गर्ने एम्बुलेन्स र स्वास्थ्य संस्थालाई मात्र दर्ता र सञ्चालन अनुमति दिने र राजस्व छुटका लागि सिफारिस गर्ने काम भइरहेको जानकारी दिए ।