सहकारी ठगीको अनुसन्धान हुँदा भीड जम्मा गर्ने गतिविधि हुनु दुर्भाग्यपूर्ण : गृहमन्त्री लेखक

सहकारी ठगीको अनुसन्धान हुँदा भीड जम्मा गर्ने गतिविधि हुनु दुर्भाग्यपूर्ण : गृहमन्त्री लेखक


काठमाण्डु – गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा संलग्नमाथिको अनुसन्धान प्रभावित हुने काम कसैले पनि गर्न नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन नवलपुरद्वारा शनिवार कावासोतीमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले लोकतन्त्रमा भीडले न्याय नदिने भन्दै न्यायिक प्रक्रियाबाट नै हरेक गतिविधिको छिनोफानो हुने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि मानवअधिकार उल्लंघनको कुनै पनि व्यवहार नभएको भन्दै उनले अदालतको आदेशअनुसार नै अनुसन्धान भइरहेको बताए । ‘रविजीमाथि मानवअधिकार उल्लंघनको कुनै काम भएको छैन । सरकार हरेक व्यक्तिको मानवअधिकार रक्षाका लागि प्रतिबद्ध छ,’ उनले भने, ‘सहकारी ठगीमा संलग्न जोकोहीमाथि अनुसन्धान हुन्छ ।’

जनताले दुःख गरेर जम्मा गरेको करोडौं रकम हिनामिना गर्नेमाथि अनुसन्धान हुँदा भीड जम्मा गर्ने, अदालत तथा न्यायिक निकाय घेराउ गर्ने जस्ता गतिविधि हुनु दुर्भाग्यपूर्ण भएको उनले बताए ।

मुलुकमा दीगो विकास, शान्ति, सुशासन तथा समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको उनले बताए । ‘स्थायी सरकार नहुँदा आर्थिक गतिविधि चलायमान हुन सकेको थिएन, सुशासन कायम भएन, विकास निर्माणका काम पनि द्रूतगतिमा अघि बढ्न नसकेपछि वर्तमान गठबन्धन सरकार गठन भएको हो,’ उनले भने ।

गृहमन्त्री लेखकले वर्तमान गठबन्धनको विषयमा विभिन्न प्रकारको हल्ला फैलाउने कोसिस भएको भन्दै गठबन्धन २०८४ सालको निर्वाचनसम्मै कायम रहने जिकिर गरे । संविधान संसोधन तथा राजनितिक स्थायित्वका लागि वर्तमान गठबन्धनको आवश्यकता महसूस भएकाले जनचाहना अनुसार काम हुने उनको दाबी छ ।