काठमाण्डु– काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किरातचोक नजिकको वाग्मती नदीकिनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको आज मृत्यु भएको छ ।
चितवनको रत्ननगर नगरपालिका–१२ घर भई बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यले शनिबार दिउँसो १२ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाइ गम्भीर घाइते भई उपचारका क्रममा आज उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
उनले भने, “शनिबार दिउँसो बा३५प ५८१८ नम्बरको स्कुटरमा आएर वाग्मती खोला किनार नजिकको खाली जग्गामा आचार्यले आफूमाथि पेट्रोल छर्केर आगो लगाएको र गम्भीर घाइते भएकी उनको उपचारका क्रममा आज साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।”
मृतक आचार्यको शव परीक्षणका लागि अहिले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज टिचिङमा पठाइएको प्रवक्ता अधिकारीले बताए ।
आचार्यका १३ र ३ वर्षका बच्चा छन् । आचार्यको सुसाइड नोट भेटिएको छ । सुसाइड नोटमा उनले आफ्ना श्रीमानसँग क्षमा मागेकी छन् । नोटमा लेखेकी छन्, ‘सरी बुढा ।’ कागेश्वरी मनोहरा नगरपालिका–७ मा आचार्य दम्पतीले स्टेशनरी सञ्चालन गरेका छन् । उनीहरुले सञ्चालन गरेको केएण्डए स्टेशनरीबाट केही पर गएर उनले आगो लगाएकी हुन् । नोटमा पतिको नम्बर लेख्दै उनले भनेकी छन्– ‘मेरो श्रीमानलाई मेरो अवस्थाबारे खबर गरिदिनुहोला ।’‘मैले श्रीमानलाई सहयोग गर्न सकिँन, म बाँच्नुको कुनै अर्थ छैन’‘म मरेको खबर श्रीमानलाई गरिदिनुहोला नम्बर यो हो ।’ नोटमा उनले घटना आफ्नै कारणले भएको उल्लेख गरेकी छन् । नोटमा लेखिएको छ, ‘यो सबै मेरै कारण भएको हो ।’
प्रतिक्रिया