भारतीय सेनाको मानार्थ महारथी दर्जा पाएर स्वदेश फर्किए सिग्देल

भारतीय सेनाको मानार्थ महारथी दर्जा पाएर स्वदेश फर्किए सिग्देल


काठमाण्डु-प्रधानसेनापति अशोकराज सिग्देल भारतीय सेनाको मानार्थ महारथी दर्जा ग्रहण गरी स्वदेश फर्किएका छन्।

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा मंसिर २६ गते भारत भ्रमणका लागि प्रस्थान गरेका उनी आइतबार स्वदेश फर्किएका हुन्।

उनलाई नेपाली सेनाका बलाध्यक्ष रथी प्रदीपजंग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

भारत भ्रमणको क्रममा मंसिर २७ गते प्रधान सेनापति महारथी सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन्।

प्रधान सेनापति सिग्देलले भारतका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चिफ डिफेन्स स्टाफ अनिल चौहान, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए।

सो अवसरमा उनले भारतीय सेनाको दक्षिण कमान्डअन्तर्गतका एयर फोर्स स्टेसन, टाटा एड्भान्स्ड सिस्टम लिमिटेड लगायतका विभिन्न रणनीतिक सैनिक संरचनाहरूको पनि अवलोकन गरेका थिए।