अन्तर्राष्ट्रिय सम्बन्धमा भाष्य धेरै शक्तिशाली हुन्छ । यदि त्यो भाष्य मिडियामार्फत (मूलप्रवाह र सामाजिक सञ्जाल) जनतामा प्रवाह भइरहेको छ भने त्यसले अहिलेको समयमा बढी महत्त्व राख्छ ।
यसैसन्दर्भमा विगत केही समयदेखि भारतीय मिडियाले नेपाल बिस्तारै ‘प्रो–चाइना’ अर्थात् चीन–परस्त भइरहेको छ भनेर आरोप लगाइरहेका हुन्छन् । हालसालै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको बेला गरिएको बीआरआई सम्झौता अनुसार चीनले नेपालमार्फत भारतमा सैन्य रूपमा प्रवेश गर्न खोजेको भन्ने भाष्य भारतीय मिडियामा निर्माण भएको छ ।
मिडियामा आएको भाष्यले विदेश नीतिको विकास तथा कार्यान्वयन र जनतामा सम्बन्धित देशप्रतिको बुझाइलाई निकै प्रभाव पार्छ । विशेषगरी भाष्य निर्माण यदि अनुभवी व्यक्तित्वहरू जस्तैः पूर्वकूटनीतिज्ञ, पूर्वविदेश सचिव, पूर्वसैनिक जर्नल, पूर्वविदेशमन्त्री वा पूर्वरक्षामन्त्री लगायतले गरिरहेका छन् भने त्यो झन् प्रभावशाली र सशक्त हुन्छ ।
भारतमा आफ्नो समयमा विभिन्न ओहोदाहरूमा काम गरेर सेवानिवृत्त भएका व्यक्तिहरूले नेपालको चीनसँग विकास हुँदै गएको सघन सम्बन्धले भारतलाई खतरा हुने भनेर जिकिर गर्दै आएका छन् ।
नेपाली प्रतिनिधिमण्डल नेगोसियसनका लागि भारत जाँदा त्यहाँ निर्माण भएको भाष्यले धेरै फरक पार्छ । भारतका प्रतिनिधिमण्डलले हरेक द्विपक्षीय विषयमा चीनलाई जोडेर हेर्ने अवस्था हुन्छ र नेपालले बारम्बार स्पष्टीकरण दिँदै जानुपर्ने बाध्यात्मक परिस्थित सिर्जना हुन्छ । नेपालको अस्थिर राजनीतिक अवस्थाले गर्दा पनि भारतीय पक्षलाई नेपालको जवाफ चित्त नबुझ्ने सम्भावना प्रबल हुन्छ, जसले विश्वासको वातावरणमा पनि कमी देखिन्छ । त्यसैले भारतीय मिडियामा नेपाल ‘प्रो–चाइना’ भयो भन्ने भाष्य तोड्न अति नै जरुरी छ, जसका लागि निम्नलिखित कार्यहरू गर्न सकिन्छः–
१. नेपाली विद्धान, पत्रकार, पूर्वकूटनीतिज्ञ, पूर्वपरराष्ट्र सचिव, पूर्वपरराष्ट्रमन्त्री, पूर्वरक्षामन्त्री, राजनीतिक नेतृत्व लगायतले एउटा संयुक्त वक्तव्य जारी गरी नेपाल प्रो–चाइना हुँदै गएको भन्ने भाष्य गलत भएको र सार्वभौम राज्यको रूपमा भारतसँगको बहुआयामिक सम्बन्धलाई ख्याल राखी चीनसँग द्विपक्षीय सम्बन्ध स्थापित गर्ने प्रयास गरिएको भनेर भारतीय सार्वजनिक वृत्तमा जानकारी गराउन सक्नुपर्छ । किनभने नेपाल–भारत–चीन सम्बन्ध त्यसमा पनि थप बाह्य शक्तिको रूपमा अमेरिकाको चौकोणीय प्रभावमा भूराजनीति यति जबरजस्त छ कि नेपालको परराष्ट्र सचिवको टेबलमा भएको चियाको कपभित्र झिँगा पर्दा पनि कुन शक्ति राष्ट्रले भूमिका खेल्यो भन्ने अवस्था छ । भारतसँग बहुआयामिक सम्बन्ध र बृहत् निर्भरताले गर्दा नेपालले ‘एक–एक पाइला’ नापेर हिँड्ने बाध्यता छ ।
२. भारतीय थिङ्ग ट्यांक जस्तै विवेकानन्द फाउन्डेसन, मनोहर पार्रिकर इन्स्टिच्युट अफ डिफेन्स एण्ड एनालाइसिस, ओआरएफ लगायतका संस्थाहरूमा लेख प्रकाशनमार्फत नेपाली बौद्धिक समाजले यो भाष्यलाई तोड्न सक्नुपर्छ । साथै भारतीय सामाजिक सञ्जालका मिडिया जस्तै ‘द प्रिन्ट’, ‘द वायर’ लगायतमा पनि आफ्नो अन्तर्वार्ता दिएर यो भाष्य तोड्ने अभियानलाई विस्तारित गर्न सकिन्छ । सँगसँगै भारतको स्थापित मूलप्रवाहको प्रिन्ट मिडिया जस्तै ‘द हिन्दु’, ‘इण्डियन एक्सप्रेस’मा पनि लेखमार्फत भाष्य परिवर्तन गर्ने प्रयास गर्न सकिन्छ । भारतमा अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा नेपाल मामिला हेर्न नयाँ युवा विश्लेषकहरू उदाइरहेका छन् । उनीहरूलाई हाम्रो बौद्धिक सर्कलले ओरिएनटेसन गर्नुपर्यो । साथै दक्षिण भारतीय युवा विश्लेषक र उत्तर भारतीय युवा विश्लेषक जो युपी र बिहार क्षेत्रबाट प्रतिनिधित्व गर्छन्, यी दुवैको नेपाल हेर्ने दृष्टिकोणमा केही फरक मत हुनसक्छ । यो विषयलाई पनि मध्यनजर गर्नुपर्छ । भारतीय युवा विश्लेषकहरूमा नेपाल–भारतको विशेष सम्बन्ध छ भन्दा पनि बदलिँदो परिवेशमा नेपाललाई रणनैतिक कोणबाट मात्र हेर्ने प्रयास गर्न थाले भने नेपाललाई कठिन हुनसक्छ । किनभने यी भारतीय युवा विश्लेषकहरू नै भोलि भारतको विदेश नीतिमा दरिलो प्रभाव राख्नेवाला छन् । विशेषतः आमभारतीय एवं युवा विश्लेषकहरूमा वामपन्थी राजनीतिक विचारधाराप्रति त्यति सकारात्मक बुझाइ छैन । यस्तो अवस्थामा नेपालमा वाम रुझान भने व्यापक हुँदै गएको छ । जसरी २०२३ जुलाईमा नेपालका चर्चित पत्रकार रविन्द्र मिश्रले भारतको ‘द प्रिन्ट’ नामक अनलाइन पत्रिकामा ‘कमजोर धर्मनिरपेक्ष नेपाल, भारतको ठूलो शत्रु हो’ भन्ने लेख छापेर भारतलाई कदम चाल्न आह्वान गरे । सोही प्रकारले यदि युवा भारतीय विश्लेषकहरूले भविष्यमा नेपालमा बढ्दै गएको वामरुझान भारतलाई खतरा छ भनेर लेख छापे भने के होला ? यसको प्रभाव कस्तो पर्ला ? विचार विमर्शको विषय होला ।
३. नेपाली सेनाका सेवानिवृत्त जर्नलहरूले भारतीय सेवानिवृत्त जर्नलहरूसँग अन्तरसंवाद गरी यो भाष्य तोड्न भूमिका खेल्नुपर्छ । गल्फ कोर्टमा सँगै गल्फ खेल्दा होस् वा डिनर डाइनिङमा होस्, गहन छलफलले यो भाष्य तोड्न सकिन्छ । विशेषगरी भारतीय सेवानिवृत्त सैनिक अधिकारीहरू नेपाल र चीनबीच भएको सम्झौता ट्रान्स हिमालयन मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्क जसमा रेल, सडक सञ्जालको विषयमा चीनसँग नेपालले सहकार्य गर्ने विषय छ । त्यसमा भारतीय सेवानिवृत्त सैनिक जर्नलहरूले यो नेटवर्कमार्फत चीनले नेपालको बाटो हुँदै सिधै उत्तरबाट दक्षिणको भारतको सीमामा सैनिक सामग्रीहरू ल्याउने भविष्यको गुरुयोजनासहित अघि सारेको हो भनेर भनिरहेका छन् । यस भाष्यलाई नेपालले यो विशुद्ध विकास परियोजना हो र यसमा खुफिया वा सैनिक कुनै पनि तत्व नरहेको र नेपालले विगतदेखि अहिलेसम्म नै नेपालको भूमि एकअर्काविरुद्ध प्रयोग हुन नदिने अडान आफ्नो ल्याकतले भ्याएसम्म निर्वाह गरेको भनेर नेपाली सेवानिवृत्त जर्नलहरूले भारतीयहरूलाई बुझाउन सक्नुपर्छ ।
४. नेपालले धार्मिक कूटनीतिमार्फत पनि यो भाष्य तोड्न सक्छ । दुवै देशका योगी, साधु, सन्तले यो भूमिका खेल्न सक्छन् । जसमा साधु सन्तले नेपाल–भारत सम्बन्ध वैदिककालीन भएकाले कुनै निश्चित राजनीतिक स्वार्थमा प्रयोग गरेर नेपालमाथि भारतको दबाब बढाउने विषय स्वीकार्य नहुने भनेर धार्मिक सभा–सम्मलेनमा प्रवचनमार्फत व्यक्त गर्न सक्छन् । धर्म सर्वोच्च छ, वेद, पुराण, भागवत गीता, बौद्ध दर्शन लगायतका धरोहरहरू नेपाल–भारतका साझा हुन् । साथै वैदिक सनातन धर्ममा नेपाल भनेको हिमालय अर्थात् शिर भएको र तल्लो तट वा शरीर भनेको भारत भएको हुनाले शिर र शरीरको सहकार्य चाहिन्छ भनेर धार्मिक कूटनीतिमार्फत यो भाष्य तोड्न सकिन्छ ।
अन्त्यमा, नेपाल–भारत सम्बन्ध विशेष छ तर कुनै बाह्य शक्ति वा प्रभावमा परेर, बुझ्दै नबुझीकन भारतीयहरूले बहकाउमा आएर यो बहुआयामिक सम्बन्धमा खलल पुर्याउने कार्य कदापी गर्नुहुन्न । माथि प्रस्तावित उपायहरू नेपाल प्रो–चाइना भयो भन्ने भाष्य तोड्न केही प्रभावकारी हुन सक्लान् । नेपाल प्रो–चाइना वा प्रो–इण्डिया भएको होइन, यो केवल बदलिँदो विश्व परिवेशमा आफ्नो सार्वभौमिकता र अस्तित्व रक्षा गर्दै जागृत हुने प्रयत्न मात्रै गरेको हो ।
प्रतिक्रिया