सशस्त्र प्रहरीद्वारा ४४ लाख बराबरका सामान बरामद

सशस्त्र प्रहरीद्वारा ४४ लाख बराबरका सामान बरामद


काठमाण्डु – सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले पर्सा जिल्लाका विभिन्न स्थानहरूबाट करीब ४४ लाख रुपैयाँ बराबरको सामानहरू बरामद गरेको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौजले मंसिर २९ गते पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–६ स्थित लाटगलीबाट ३० लाख ४९ हजार ७०० रुपैयाँ बराबरको लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ ।

स्थानीय एक घरमा राखिएको अवस्थामा गोदाममा छापा मारेर १ हजार ६२७ पिस कुर्ता सुरुवाल, २ हजार ७६८ पिस सल र १ हजार ७२८ पिस स्काफ, लेडिज व्याग तथा कस्मेटिक सामानहरू बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका–१६ स्थित ईनर्वा तथा अन्य नाकाहरूबाट १३ लाख ३६ हजार ९३५ रुपैयाँ बराबरको विभिन्न किसिमका सामानहरूसहित एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

भारतबाट अवैध रूपले नेपालतर्फ ना५३प ९३०६ नम्बरको मोटरसाइकलमा राखेर तथा अन्य यात्रुबाहक सवारीसाधनमा लुकाइछिपाई ल्याउँदै गरेको कस्मेटिक तथा किराना सामान, मोटरपार्टस, कि–प्याड मोबाइल, मोबाइल एसोसेरिज र लत्ताकपडा गुल्मले मंसिर ३० गते बरामद गरेको हो । सामान ल्याउने व्यक्तिहरू गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै फरार भएका थिए ।

बरामद गरिएका सामानहरू आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।