पाठक र कोइराला अध्यक्ष नबन्ने भएपछि कांग्रेसले भाँड्यो टीआरसी गठन प्रक्रिया

पाठक र कोइराला अध्यक्ष नबन्ने भएपछि कांग्रेसले भाँड्यो टीआरसी गठन प्रक्रिया

देउवाले नछाड्ने, समितिले नमान्ने गर्दा हुन सकेन सहमति


काठमाण्डु – सुदीप पाठक र विश्वराज कोइरालाबारे सर्च समिति र नेपाली कांग्रेसबीच मतैक्यता जुट्न नसक्दा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन प्रक्रिया भाँडिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा पहिला पाठकलाई र पछि कोइरालालाई बनाउन अडान लिएका थिए । दुवै जनालाई अध्यक्षमा सिफारिस गर्न सर्च समितिले अस्वीकार गरेपछि सहमति हुन नसकेको निकटस्थ स्रोतले जानकारी दियो । अन्ततः सर्च समितिले औपचारिक रूपमै आफूले काम नगर्ने बताउँदै नयाँ प्रक्रिया सुरु गरेर अगाडि बढ्न आग्रह गरेको छ ।

सर्च समितिका प्रवक्ता खम्मबहादुर खातीले सोमबार राति विज्ञप्ति जारी गरेर सिफारिसमा सदस्यहरूबीच मतैक्य नभएको र, अहिलेकै अवस्थामा समितिले काम गर्न नसक्ने उल्लेख गर्दै सरकारलाई नयाँ प्रक्रिया सुरु गर्न पनि आग्रह गरेका छन् ।

२ पुससम्म काम गर्ने समयसीमा पाएको सर्च समितिले विवादका कारण अध्यक्ष र सदस्य सिफारिस गर्न नसकेको हो । अरु सबै विषयमा कुरा मिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा समिति र मुख्यगरी नेपाली कांग्रेसबीच कुरा मिल्न नसकेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पहिला राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य सुदीप पाठकलाई आयोगको अध्यक्ष बनाउन चाहेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसहितको २० मंसिरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा देउवाले पाठकको नाम प्रस्ताव गर्दै आफूले पाठकलाई वचन दिइसकेको भन्दै देउवाले विकल्प खोज्न नसक्ने बताएका थिए । उनको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष दाहालले सहमति जनाए पनि ओलीले कुनै प्रतिक्रिया दिएका थिएनन् ।

सर्च समितिले १ सय ५६ जना मध्येबाट ८ जना अध्यक्षका लागि छान्दा सर्टलिष्टमा परेका पाठकको नाममा छलफल हुँदा विवादास्पद विगतका कारण नागरिक समाज, द्वन्द्वपीडित र अन्तर्राष्ट्रिय समुदायले विरोध गर्दैै प्रधानमन्त्री ओली र सभापति देउवालाई विभिन्न च्यानलबाट अध्यक्ष नबनाउन सन्देश पठाएका थिए ।

त्यसपछि पाठकलाई बनाउन नसकिने निश्चित भएपछि देउवाले पूर्वनायब महान्यायाधिवक्ता विश्वराज कोइरालाको नाम प्रस्ताव गरे । कोइरालाविरुद्ध सर्च कमिटीमा उजुरीसमेत परेकाले सर्च समितिका सदस्यहरू कोइरालालाई सिफारिस गर्न नसकिने बताए । विवादास्पद पृष्ठभूमिका कोइरालालाई अध्यक्ष बनाउने गरी सिफारिस गर्न नसकिने सन्देश समिति संयोजक र सदस्यले देउवालाई दिएको कांग्रेस निकट स्रोत बताउँछ ।

त्यसपछि देउवाले सर्च समिति संयोजक ओमप्रकाश मिश्र र सदस्यहरूको विकल्प खोज्न लागेका बताइन्छ । यो बुझेपछि सर्च समितिले बाटो खाली गरिदिएको निकटस्थ स्रोतले बतायो ।

देउवाको दबाबमा विवादास्पद व्यक्तिलाई बनाउन सिफारिस गर्नुभन्दा बाहिरिनु उपयुक्त हुन्छ भनेर बाहिरिएको एक सदस्यले जानकारी दिए ।